प्रधानमन्त्री शेरबहादुर देउवाले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित

सर्वोच्चले दोस्रो पटक ब्युँताएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

लामो समयको राजनीतिक उतारचढावपश्चात आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। आजको बैठकमा सरकारका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्।

त्यसो त देउवाले प्रधानमन्त्री नियुक्त भएकै दिन सानो आकारमा मन्त्रिपरिषद गठन गरेका थिए। जसमा आफ्नै गठबन्धनको पार्टी माओवादी केन्द्रबाट दुई र आफ्नै पार्टी कांग्रेसबाट दुई मन्त्री सहभागी छन्।

लामो समयदेखि एमालेभित्रको विवादले देउवालाई प्रधानमन्त्री बन्नमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्यो। देउवा प्रधानमन्त्री बन्दा एमालेका वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुको हस्ताक्षरले महत्वपूर्ण भूमिका खेल्यो।

यदि नेता नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकतामै रहन्थे भने देउवा प्रधानमन्त्री बन्ने थिएनन्। 

त्यसो त पछिल्लो समय एमाले एकता कायमै राख्न दोस्रो तहका नेताहरु दिनहुँ भेटवार्ता गरिरहेका छन्। 

आजै पनि एमाले स्थायी कमिटी बैठक बस्दैछ। जसमा माधव नेपालसहितका नेताहरुलाई पनि बोलाइएको एमाले स्रोतले बताएको छ। शुक्रबार बसेको बैठकले कार्यदलले तयार पारेको सहमतिको १० बुँदे मस्यौदालाई अनुमोदन गरेको थियो।

यस्तो अवस्थामा, देउवाले चलाखीपूर्ण रुपमा आजै विश्वासको मत लिने तयारी गरेका छन्। देउवालाई डर छ कि एमाले एकता भएमा विश्वासको मत नपाउन सकिन्छ। त्यसैले सदनमा आज देउवाले एमाले विवादकै बीच विश्वासको मत लिने कदम चालेका छन्।

ढिला गर्दा राजनीतिक समिकरण फेरिन सक्ने र विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले नै देउवाले आजै विश्वासको मत लिन लागिएको स्रोतले बताएको छ।

रोचक कुरा त के छ भने, एमालेमा ओली पक्षले सदनमा देउवालाई विश्वास मत नदिने घोषणा गरिसकेका छ। तर नेपाल पक्षभित्रै पनि केही नेताहरुले देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् भने केही नेताहरुले भने नदिने पक्षमा उभिएका छन्।

एमालेले सदनमा अदालतको निर्णयलाई गम्भीरतापूर्वक उठाउने घोषणा गरिसकेको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको निर्णयले कतिपय चुनौती र अप्ठेरो निम्त्याएकाले सदनमा फैसलाका सम्बन्धमा साह्रै गम्भीरतापूर्वक कुरा उठाउने प्रतिक्रिया दिइसकेका छन्।

अहिले प्रतिनिधिसभामा नेकपा एमाले (ओली र नेपाल)का  १२१, नेपाली कांग्रेस ६३, माओवादी केन्द्र ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद छन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद छन्।

देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन्। जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए। अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ। यसले गर्दा प्रस्तावको पक्षमा १२७ सांसद देखिएका छन्।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन्। त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार सुरक्षित रहनेछ।

तर केही राजनीतिक समिकरणका कारण नेपाल पक्षका नेताहरुले मत नदिएमा उनीले विश्वासको मत पाउने छैनन्। र, अन्ततः देश चुनावी माहोलमा जानेछ। 



एमाले स्थायी कमिटी बैठक आज बस्दै, माधव नेपालसहितका नेताहरुलाई पनि बाेलाइयाे

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने 

प्रकाशित मिति: : 2021-07-18 11:50:00

प्रतिकृया दिनुहोस्