अनैतिक अभ्यास भइरहेको देख्दा मन रुन्छ, त्यसैले राजीनामा दिएँः भीम रावल (पूर्णपाठ)

File Photo
File Photo

नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले आफ्नै पार्टी नेतृत्वलाई दोष दिँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन्।

रावल देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालत पुगेर हस्ताक्षर गर्ने एमालेका २३ सांसदमध्ये एक हुन्।

उनले आफ्नो राजीनामा भनेका छन्, ‘पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।’


रावलको राजीनामाको पूर्णपाठ

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ।

विषय राजीनामा

महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु। र तिनको सामना गर्दै आएको छु।

यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए। तर, राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए। फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ। अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ।

यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे। तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।

यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु। धन्यवाद

भीमबहादुर रावल
सदस्य, प्रतिनिधि सभा
अछाम निर्वाचन क्षेत्र नम्बर– १

प्रकाशित मिति: : 2021-07-18 17:18:00

प्रतिकृया दिनुहोस्