देउवालाई विश्वासको मत दिने २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय 

नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा 'विश्वासको मत' दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य प्रतिष्ठान भवनमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीकाे निर्णयविपरीत 'फ्लोर क्रस' गरी देउवाको पक्षमा मत दिने प्रतिनिधिसभाका २२ जना सदस्यहरुसँग २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव पेश भएको छ। आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले विश्वासको मत दिएका थिए।

देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन्।

त्यस्तैगरी गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले देउवालाई मत दिएका थिए।

प्रकाशित मिति: : 2021-07-19 13:54:00

प्रतिकृया दिनुहोस्