नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ।
भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।
पक्राउ पर्नेमाथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ। गाँजा र अफिम ओसारपसार गर्ने हेटौँडा, राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकाका युवा बढी पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउपर्नेमा पुरुष १४२ रहेको बताइएको छ।