मौसममा भएको परिवर्तनसँंगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुध्न अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन्।
विगत पाँच/सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा अरविन्द्रकुमार यादवले जानकारी दिए।
उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०/७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए। मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन्।
बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा यादबको भनाइ छ। भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५÷३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ।
विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताए।
अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ।
भाइरल ज्वराको प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताए। यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वराका बिरामीको सङ्ख्या बढ्दो छ।
एक्सरे मेसिन बन्द, सेवाग्राही मर्कामा
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्।
अस्पतालमा सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द हुँदा उपचार गराउन आउने बिरामी सास्ती भोग्न वाध्य छन्। बाहिर गएर एक्सरे गराउँदा दोब्बर खर्चिनुपरेको बिरामीको गुनासो छ।
केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पतालमा व्यापक सुधार खाँचो रहेको राजविराजका बिजाय रजकको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीत कुमार झाले प्राविधिक गडबडी र युपिएस बिग्रेका कारण बन्द भएको एक्सरे सेवो एक/दुई दिनमा पुनःसञ्चालनमा आउन सकिने बताए।