मेयर र उपमेयरबीच लफडा: करोडौं रकमका नक्कली आयोजना 'इन्ट्री' गराइयाे

Breaknlinks
Breaknlinks

जुम्लाको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्याैपानेले मेयर कान्तिका सेजुवालले प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लगाएकी छन्।

मेयर सेजुवालले नगर सभाका ५३ जना सदस्यले पास गरेका योजना प्रक्रियाविपरित मनोमानी रुपमा करोडौं रकमका नक्कली आयोजना 'इन्ट्री' गराउने गरेको आराेप उपमेयर न्यौपानेले लगाएकी हुन्।

उपमेयर न्यौपानेले पत्रकार सम्मेलन गर्दै नक्कली योजनाको रकम भुक्तानीका लागि कर्मचारीलाई दबाब दिँदै भुक्तानी गर्न लगाउने गरेको बताइन्। 'यो प्रक्रिया मेयरले पहिलो वर्षदेखि नै गर्नुभएकाे छ,' उनले भनिन्, 'अहिले सम्म रोकिएको छैन। अब मेयरको मनपरी चल्दैन। हामी पनि चुप लागेर बस्दैनौँ।'

उपमेयर न्यौपानेले मेयरका गलत हर्कत रोक्न सबै जनप्रतिनिधिले संघर्ष गरेको बताइन्। तर विभिन्न जाल, झेल र प्रपञ्चहरु गरेर संघर्षलाई कमजोर पार्ने गरेको सुनाइन्।

मेयरले इन्ट्री गरेका कार्यपालिका हुँदै नगरसभामा पेस नभएका अवैध योजना उपमेयर संयोजकत्वको अनुगमन समितिबाट अनुगमन नहुँदै भुक्तानी भएकाे उनकाे आराेप छ।

'यो अलोकतान्त्रिक कदम र व्यक्तिगत स्वार्थका कारणले नगरपालिका अनिर्णयको बन्दी भएको छ,' उनले भनिन्, 'गत ३ वर्षदेखि सार्वजनिक सुनुवाई गर्नुपर्ने सवाल उठायौं। कहिल्यै सुनुवाई भएन।'

मेयरले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार हडपेको उनकाे आरोप छ।

मेयर र उपमेयरको विवादले नगरपालिकालाई आर्थिक दायित्व बढ्न गएको छ। यसले नगरपालिकालाई नयाँ योजना कसरी अगाडी बढाउने भन्नेमा संकट सिर्जना भएको छ। जनताको करबाट उठेको राजश्व सदुपयोग गर्नुपर्ने, बजेटको स्रोतहरु पहिचान गर्नुपर्ने र गतवर्षको हिसाब-किताब दुरुस्त पारेर राजश्व परामर्श समितिको बैठकमा लैजानु पर्ने माग उपमेयर न्यौपानेको छ।

पटक-पटक मेयरले दबाब दिने भएकोले प्रमुख प्रशासकीय अधिकृतले कामबाट बिदा लिनुपर्ने अवस्था आउने गरेको उनले बताइन्।

मेयरले नगरसभा गरेर बजेट पारीत भएको हल्ला फिजाएर नगरको विकासमा अवरोध सिर्जना गर्न खोजेको आरोप छ।

'कहाँ, कहिले र कति जना जनप्रतिनिधिको सहभागितामा नगरसभा सकियो, त्यसको माइनुट कहाँ छ,' उनले भनिन्, 'त्यो सबै लुकाइएको छ। यो भन्दा लाजमर्दो उदाहरण के हुनसक्छ?’ 

उनले जनतालाई गुमराहमा पार्नु राजनीतिक अपराध भएकाे भन्दै नगरसभाका बहुमत सदस्यले विशेष नगरसभाको माग गरेको बताइन्।

'स्वर्णिम इतिहास बोकेको नगरपालिकालाई बदनाम हुन दिदैनौँ। जनता प्रतिको कर्तव्य पूरा गर्न जस्तोसुकै कदम चाल्छौँ', उनले थपिन्, 'नगरपालिका कसैको विर्ता होइन। यो विकास निर्माण गर्ने थलो हो।'

उपमेयर न्यौपानेका अनुसार नगरकार्यपालिकाका ११ जना सदस्यले हस्ताक्षर गरेर मेयरका कमजोरी सच्याउँदै विशेष नगरसभाको माग राखेका हुन्।

उता मेयर सेजुवाले भने यस विषयमा कुनै प्रतिक्रिया नदिने बताएकी छन्। 'याे हदभन्दा बढी भयाे। उहाँले पत्रकार सम्मेलन गर्नुभएको छ। म पनि पत्रकार सम्मेलन गरेर नै सत्य कुरा बताउन चाहन्छु,' उनले भनिन्।

प्रकाशित मिति: : 2021-07-31 18:34:00

प्रतिकृया दिनुहोस्