लाखौँ भक्तजनले पशुपतिनाथको गजुर बाहिरैबाट दर्शन गरे 

File photo
File photo

साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ।  

निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताए। 

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ। वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि लाखौँ भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन्। 

बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आउनुभएका श्याम उप्रेतीले सुनाए। साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उनले बताए। 

शास्त्रीय मान्यताअनुसार मानसिक रुपमा पनि भगवान्को दर्शन गर्न सकिन्छ। यसै विश्वासका आधारमा पनि पशुपति क्षेत्रमा साउनको सोमबार भक्तजनको भीड बढ्ने गरेको छ। पशुपति क्षेत्रमा पाइला टेक्दैमा आनन्दानुभूति हुने अनुभवले आएको बताउने भक्तजनको भीड पनि पशुपति क्षेत्रमा भेटिन्छ।  

पशुपति क्षेत्रमा आएका कतिपय मानिसले भने मास्क लगाएको देखिँदैन। समूह समूहमा मानिस आएका देखिन्छ। यसले गर्दा फेरि मन्दिर क्षेत्रमा जम्मा भएका मानिसकै कारण कोरोना बढ्ने जोखिम त बढ्ने होइन भन्ने त्रास फैलिएको छ। कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मास्क नलगाएकालाई लगाउन भन्ने र भौतिक दूरी कायम गरेर व्यवस्थित गरिएको बताए। 

पशुपतिनाथ मन्दिरसँगै उत्तरपूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ। 

यी मन्दिरमा पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन्। यस बाहेकका शहरका भित्री भागमा रहेका मन्दिरमा भने भक्तजनले दूरी कायम गरी पूजा आराधना गरेका छन्। 

मन्दिरमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य एवं पारिवारिक सुख प्राप्त हुने, मनोकामना पूर्ण हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। रासस 

प्रकाशित मिति: : 2021-08-02 21:26:00

प्रतिकृया दिनुहोस्