कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ। 

अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए। कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उनको भनाइ छ। 

'सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ' उनले भने, 'कैदीबन्दीलाई कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल भइरहेको छ।'

जीर्ण अवस्थाको भवनका अन्य कोठामा पनि क्षति पुगेको छ। ढुङ्गा र माटोले बनेको एकतले नौ कोठे भवनको सख्खर माटोले छाएको छानो अत्यधिक बर्सातले चुहिएर पर्खाल चर्किएको थियो। 

दुई कोठामा कैदीबन्दी, छवटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुखको निवास थियो। भवनमा प्रयोग भएका काठ मक्किएको, चुहिने र जीर्ण भएकाले अप्रिय घटनाको जोखिम छ।   

दश जना अटाउने क्षमता रहेको सो कारागारमा हाल ११ जना कैदीबन्दी छन्। यसअघि बढीमा २६ जनासम्म कैदी–बन्दी राखिएको थियो। २० जना सुरक्षाकर्मीको दरबन्दीमध्ये १० र सात जना प्रशासनिक कर्मचारीको दरबन्दी भएकोमा चार जना कार्यरत छन्। 

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन सहायक अञ्चलाधीशको निवास रहेको भवनमा विसं २०३७ मा कारागार राखिएको थियो। प्रजिअ श्रीनाथ पौडेलसहित सुरक्षा अधिकारी र जनप्रतिनिधिको टोलीले भत्किएको कारागार भवनको आज दिउँसो निरीक्षण गरेर कैदीबन्दीको व्यवस्थापनका लागि पहल थालेको छ। 

पछिल्लो समय मुस्ताङमा तापक्रम बढ्ने, अत्यधिक मात्रामा वर्षा र बेमौसममा हिमपात हुन थालेपछि माटोले बनेका परम्परागत पुराना घर चुहिने, भत्किने र जीर्ण बनेका छन्। 

कारागारको भौतिक संरचनाको जिर्ण र जोखिम अवस्थाका बारेमा पटक÷पटक ध्यानाकर्षण गराए पनि नयाँ भवन निर्माणका लागि चासो देखाएका छैनन्। 

प्रकाशित मिति: : 2021-08-04 18:14:00

प्रतिकृया दिनुहोस्