कोरोना सङ्क्रमित दुईको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २६ दिन यता कोरोना सङ्क्रमितको मृत्यु दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा आज दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। 

सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिकाका–३का ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिकाका–१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

अस्पतालको भेन्टिलेटरमा दुई, आइसियू (सघन उपचार कक्ष)मा पाँच, अक्सिजनको सहयोगमा छ जना र अन्य १६ सङ्क्रमित उपचाररत छन्।

सो अस्पतालमा पछिल्लो २४ घण्टामा १२१ को नमूना परीक्षण गरिएकोमा २४ जनामा सङ्क्रमण देखिएको छ। अस्पतालमा आज छ जना नयाँ बिरामी भर्ना भएका छन्। 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशभरिका जिल्लामा नमूना परीक्षण भएका ८९३ मध्ये ७३ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ। यो अवधिमा २२ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन्। 

गएको जेठ महिनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महिना शुरु भएसँगै घटेको थियो। 

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणवाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ। 

कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढ्ने जोखिम बढेको हो। रासस 
 

प्रकाशित मिति: : 2021-08-06 19:31:00

प्रतिकृया दिनुहोस्