भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ विद्यालय भवन पुनःनिर्माण

myagdionline.com
myagdionline.com

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वि.सं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो। प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनःनिर्माण भएको जानकारी दिए।

'एक सय पाँच विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनःनिर्माण गर्ने लक्ष्य रहेको थियो, उनले भने, '८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनःनिर्माण सकिएको छ।' तीस वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुनःनिर्माण भएको छ। पैतीस वटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन्। गत वर्ष ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन पुनःनिर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो। 

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन्। पैतालिस शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ। गत वर्ष सम्झौता भएका १७ वटा भवन, पाँच वटा शौचालय र दुई वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ। तेह्र वटा चार कोठे, दुई वटा तीन कोठे र दुई वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्। 

एक वटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर विष्णु रिजालले बताए। आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो। पाँच शौचालय र दुई खानेपानीका योजना निमाणाधीन अवस्थामा छन्। आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मार्फत विद्यालय भवन पुनःनिर्माण कार्यको थालनी भएको थियो। विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनःनिर्माणले थप तीव्रता पाएको हो।

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्सातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनःनिर्माणका योजना प्रभावित बनेका हुन्। कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ। सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो। जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु/गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ वीरबहादुर पुनले बताएका छन्।

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन्। खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ। शौचालयका योजना छात्रामैत्री छन्। विद्यालय भवन पुनःनिर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ। आव २०७७/७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइका लेखा प्रमुख नारायप्रसाद सुवेदीले बताउनुभयो। भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुनःनिर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन्। 

प्रकाशित मिति: : 2021-08-07 09:34:00

प्रतिकृया दिनुहोस्