गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगको लागि धन्यवाद दिएका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार भएको शिष्टाचार भेटमा मन्त्री खाँणले उक्त कुरा बताएका हुन्।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यान्छी मन्त्रीसँग भेटघाटका लागि आइतबार अपरान्ह गृह मन्त्रालय पुगेकी थिइन्।
उनले गृहमन्त्री खाँणसँगको भेटमा नेपालको सरकार परिवर्तनलाई सकारात्मक रुपमा लिएको बताइन्। उनले सरकारको सफलताको कामना पनि गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल–चीनको मित्रतालाई कायम नै गर्न चाहेको बताउँदै राजदूत यान्छीले भनिन्, 'नेपाल सरकार र लोकतन्त्रप्रति चीन सरकार सधैँ सकारात्मक रहेको छ।'
गृहमन्त्री खाँणले कोभिड–१९ विरुद्धको लडाइँ र नागरिकको जीवन रक्षाको लागि उपलब्ध गराएको खोपको लागि विशेष धन्यवाद दिए। 'नागरिकलाई खोप उपलब्ध गराउनु राज्यको दाहित्व हो। यसको लागि सरकार प्रतिबद्ध छ। हामीलाई अझै खोपको आवश्यकता महशुस भएको छ ', उनले भने।