अघि बढ्यो ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया

सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।

काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो।

आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

बालकुमारीतर्फबाट आएका सवारी साधन चार लेन उठेर ग्वार्काेतिर लाग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा विजय जैसीले बताए। ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ।', उनले भने, “माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ।”

सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो। केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा जैसीले बताए।

परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको उनले बताए। ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको उनको भनाइ छ।

विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा बनाएको छ। विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जनाएको छ।

‘फ्लाइओभर’ बिएण्डबी अस्पताल नजिकै ग्वार्काेबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ। सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने निर्देशक डा जैसीले बताए। उनले भने, “दुवैतर्फ सवारी साधन नरोकिई चल्न सक्नेछन्।”

उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थ मन्त्रालयले चालु आवमा रु ३४ करोड बजेट सुनिश्चित गरेको छ। ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए।

सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने गरी योजना बनाइएको छ। अहिलेसम्म ‘फ्लाइओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि  गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा जैसीले बताए।

नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुलललगायतका ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेको उनको भनाइ छ। उनले भने, “नेपालीले सिक्नुपर्छ भन्ने सोचले पनि नेपाली व्यवसायीलाई नै दिन लागिएको हो।”

सुरु भएको दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ। संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्ने कुरामा ध्यान दिइएको निर्देशक डा जैसीले बताए।

प्रकाशित मिति: : 2021-08-11 08:36:00

प्रतिकृया दिनुहोस्