जुम्ली ठाडीभाका शृङ्खला -३

जुम्लाकी पुल्तीसरा जसले १३ वर्षको उमेरमै नर्क भोगिन् (भिडियोसहित)

रातभरि जग्यमा बसेर चिसिएकाे हड (जिउ)लाई बिहानकाे घामले ततायाे। पुल्तीसराकाे हाडमा घाम त लाग्यो तर मनमा घाम लागेन। जब मनमा घाम लाग्दैन तब सूर्यको चम्किलो प्रकाशमा पनि ग्रहण लाग्दाे रहेछ। ठीक त्यसरी नै पुल्तीसरा ग्रहण लागेकी सूर्यजस्तै भई।

जिन्दगी अँध्यारोमा जाँदै गरेकाे देखेकी उसले उज्यालोकाे खाेजी गरिन। माइती, इष्टमित्र, जन्ती सबै उज्याला थिए, खाेस्याएका ओखडजस्ता। सिपालु आइमाईका हातले माझेका भाँडाजस्ता। उनीहरु सबैले पुल्तीसरालाई डाँडाकाेट पठाउने तयारी गरे।

सुरुमा बाबुले दही,चामलकाे टीका लगाइदिए। पुल्तीसरा बाबुकाे छातीमा मुन्टाे टासेर राेई। बाबु नि:शब्द थिए। एकछिन अघिसम्म हस्याङफस्याङ गरी मेलाेमेसाे मिलाइरहेका उनमा पुल्तीसराकाे छाँया पर्‍याे र अनुहारमा बादल लाग्याे।

पालाे आमाकाे आयाे। आमाछाेरी अँगालो हालेर राेए। दुवैले वलिन्द्र धारा आँसु बगाए।

उनीहरुकाे रुवाई देखेर गाउँघर राेयाे। माइतीका महिलाले डाकाे छाेडे। कतिले 'फलानीकाे रुवाई पनि अचम्मैकाे' भने। जसरी पुल्तीसराले सुरीलाे स्वरमा ठाडी भाका गाउँदा वनपाखा एकाेहाेरिन्थ्याे, खाेलाकाे सुसाइ राेकिन्थ्याे, त्यसरी उसले घर छाेड्ने बेला रुँदा गाउँघर एकाेहाेरियाे। भावुक बन्याे। (जुम्ली महिलाहरुकाे रुनु पनि विछट्टै खालकाे कला हाे। यसमा विम्व हुन्छ। करुण रस हुन्छ। भाव हुन्छ। चाहे त्याे मान्छे मर्दा हाेस् वा बेहुली हुँदा नै।)

बिदाइ गरेर जाने बेला घरकाे ढाेकामा दहीचामल लगाइदिँदा ऊ भक्कानिई। गाेठका चाैपायादेखि पाँडका दाेपायासम्मकाे कुशल–मंगलताकाे चाहना राखी।

आफ्नाे रिक्तता पूरा गरिदनु भनेर अनुराेध गरि। वनपाखा, धारा, खेत खलियान जहाँ ऊ निस्फिक्री डुलेकी थिई। ती सबै ठाउँमा हुने आफ्नाे रिक्तता पूरा गरिदिनू भनी। अन्ततः उसका आँशु ओरालो लागे। ऊ डाेली चढेर उकालाे लागी।

दाँतेओग्डबाट लेखकपुर, सापीखाना, बाकखण्ड, छालाचाैर, छकल्या पानी, धिमी हुँदै उ डाँडाकाेट पुगी। त्यतिन्जेल अँध्याराे भइसकेको थियाे। उसलाई लिएर आएका जन्तीहरु युद्ध जितेका सिपाहीजस्ता उज्याला थिए। गाउँलेहरु भाेजभतेर सकेर खेल लगाउने तयारी गरिरहेका थिए। त्यही बीचबाट कसैले भन्याे।

ह्याउँने किन पानी पाेख्याै, नानाे भाउ रडला। 
यै घर भ्या(बिहे) भयाकाे, खेल्लै त पडला।।

भाेज भतेरमा रमाइलाे गर्दै उसकाे बिहे सकियाे। ऊ घरबारे भई। बाबुआमाले राेजेकाे घरबार खल्लो लाग्छ भन्ने उसले सुरुमै गेस गरेकी थिई। प्रेममा हुँदा जे नसचेकी थिई त्यही हुन्थ्यो। बिहेकाे बेला सबै साेचेकाे हुँदै थियाे।

पुल्तीसराकाे बिहेसम्मका दृश्यहरु कास्टिङ मात्रै थिए। पूरा फिल्म त त्यसपछि सुरु भएकाे थियाे। डाँडाकाेटमा ऊ झन् एक्लिएकी थिई।

उसले गाई नाैली भएपछि नाै पुला घाँस हालिन्छ तर बेहुली नयाँ भएपछि नाै डाेका काम देखाइन्छ भन्ने कुराकाे  त्यतिबेला चाल पाई, जतिबेला ऊ बेहुलीकाे बस्त्र उतारेर आम महिला बनी।

उसकाे नियमित रुटिन थियाे, 'बिहान झिसमिसे नहुँदै धेलाे फर्काउनु (ढाेक लिप्नु), उज्यालो हुने बेला पानी ल्याउन जानू, घरका सबैले खाएकाे जुठा भाँडा माझ्नु, सासुले जति खाना हालिन त्यति खानु, सवाल जवाफ नगर्नु, खित्का छाेडेर नहाँस्नु लगायत।'

यी सबै दृश्य उसले माइत हुँदा देखेकी थिई। अब ती दृश्यलाई व्यवहारमा उतार्न लागी। काममा घाेटीन थाली तर जति धेरै काम उति धेरै आमाकाे याद आउने रहेछ। वेदना कलकल बगेकाे खाेलाझैँ बग्ने रहेछ।

लेख माेइले (मैले) बार बार्‍यार, तिलखुडी काँडाले।
आमा मुहार देखिँदैन, यै अल्का डाँडाले।।

चेर्‍या र धिमी हुँदै छालाचाैर र छकल्या पानीका अल्का डाँडाले दाँत्याओग्ड नदेखिन्या। लेख पारी भएकाे आमा मुहार त झन् कता हाे कता? अब सपनामा बाहेक आमा देख्न नपाइने। सपनामा आमाले गालामा सुमसुम्याएकाे सम्झिनु र बिरक्तिनु नियमितता नै बन्याे।

दुई बुइनी चारवटा खानी, केलीका(केरा) पात जसा।
सपना गालीमै लाग्या, आमाका हातजसा।।

अब पुल्तीसरालाई बानी बसिसकेकाे थियाे। ऊ थाेरै सम्हालिएकी थिई। घिस्रदैँ जिन्दगी चलिरहेको थियाे। जेठमा राेपाई गर्नु, कात्तिकमा बाली भित्र्याउनु, मंसिरमा मल, पर्साे बाेक्नु नियमितता थियाे। 

आवर, बावर (ताेकिएकाे अन्न पाउने सर्तमा गरिने काम) चलिरहेकाे थियाे। खलाे, मुठाेले (साहुकाे काम गरे बापत पाउने निकै कमसल अन्न) पुग्दैन थियाे। वर्षभरि सुखदुःख गरेर लाएकाे मार्सी धानले  मुस्किलले तीन महिना धानिन्थ्याे। 

त्यतिबेला उसले तराईमा बास्मती चामल हुन्छ भन्ने सुनेकी थिई तर त्याे चामल जुम्ला आउनलाई बाटाे थिएन। खच्चडले ल्याएकाे सामलतुमलमा सबैकाे पहुँच नहुने। खाद्य संस्थानमा पहुँचवालाकाे रजाइँ। सुनेकाे बास्मती चामल कस्ताे हाेला लाग्ने? कल्पनामै भए पनि काँचाे चामल फाँकाे हाल्न पाए (खान पाएकाे) भए हुन्थ्याे जस्ताे लाग्ने तर आकाशकाे फल आँखातरि मर जस्तै हुन्थ्याे।

हाउडी र गुच्चीका लेख, झरा हुँन कि राँका।
काँ हाेला बास्मती चामल, माे हालुला फाँका??

सम्पत्तिकाे असमान वितरणबारे ज्ञान नहुँदा, गरीबीको कारण पत्ता नलाग्दा, शाेषणकाे चक्रबारे चेतना नहुँदा, पुर्वजन्मकाे 'मिथ'ले काम गर्थ्याे। गाउँका ठालु र मुखियाहरु सजिलै भनिदिन्थे, 'अघिल्लो जुनीमा पाप गरेकाे हुनाले याे जुनिमा तिमीहरु गरिब छाै। धर्म गर, कर्म गर तर फलकाे आशा नगर। हाम्रो सेवा गर, स्वर्ग जान्छौं। अर्काे जुनीमा सम्पन्न हुनेछौं।' यही शिराेपर थियाे। आफ्नै कर्म खाेटाे भएपछि दाेस कसलाई लाउनु र?

सर्गमा मेघ पानी छैन, धर्ती पर्‍याे ओस।
आफ्नाे कर्म दुराचारी(दुखारी), कसलाई लाउनु दाेष।।

दिनमा १८ घण्टा काम गर्ने पुल्तीसराकाे जीवन फेरिएन। लेखपढ गर्दा पनि मुखमा माड पसेन तर ढलेकाे सिन्काे ठाडाे नगर्ने मुखियाकाे जीवन कायापलट भइरह्याे। ऊ चैनकाे निद्रा सुतिरह्याे। याे सब देखेकी उसलाई लाग्याे, 'मुखियाले भनेझैँ अघिल्लो जुनीमा पापै गरेकाे भए पनि याे जुनीमा साहुकाे सेवा, चाकरी गरेकै हुँ। किन जीवन फेरिएन? लालाबालाकाे पेट किन भरिएन?' उ जन्म दिने भगवानलाई प्रश्न गर्न थाली, 'आएर हाम्रा दु:ख हेरिजा।'

ओरिउनाे करनाली बग्याे, पाेरिउनु भेरीजा।
जन्मदिन्या भगुवान, आ दु:ख हेरिजा।।

थाेरै जमिन भएपनि समयमै बाली लगाउने र लग्याउने हुँदैनथ्यो। सुरुमा लगिकाे काम सकाउनु पर्थ्याे। त्यतिन्जेल आफ्नाे बालीनाली छाेठ (भित्र्याउन ढिलाे) पडी सक्थ्याे। यस्ताे बेला गाउँलेका गाइगाेरु मुखियाकाे काम सकिए लगत्तै छाडा भइहाल्थे। छाेड परेकाे, छाेउछाउका खेतबारीकाे बाली गतिलाे नहुने। अगतिलाे बालीनालीले वर्षभरि खान नपुग्ने। अनि लालाबाला सहित गाेठ उठाएर परदेशी हुनुपुर्‍याे।

गाेड्न्या बाली गाेडिगया, लाई बाली लाइगया।
खान्या बेला मेरि जियै(आमै), परदेशी भइगयाँ।।

याे चक्र लगभग हरेक वर्ष जस्ताे चलिरहयाे। 'चैता १२ गते घर नआयाकाे जुम्ली  मर्‍याे भनी जान्नु' भनेझैं बाली लगाउने बेला जसाेतासाे घर पुगी। फेरि मल, पर्साे गर्ने काम क्यालेन्डर अनुसार नै भयाे। कपालका राैं थाेक(कम), काम भाेक्ति (बढी) भइरह्याे। जबजब ओैधि दुःख हुन्छ तब माइतमा रहेकी आमाकाे याद आइरहन्थ्याे।

यस्ताे बेला आमाले माइत बाेलाएकाे भए थाेरै राहत हुन्थ्याे। केही दिन आराम हुन्थ्यो। जीउ सेलाउन पाउँथ्याे। निन्द्रा पूरै आउँथ्यो तर माइतबाट न खबर आयाे न त नासाे नै।

असारमा असाडे पाेकाे आएन, न त नगी (घटस्थापना र चैत १६ गते कुटेकाे चिउरा) नै आयाे। न उसले चिठी पठाएकाे पुग्थ्याे न त फाेनकाे विकास नै भइसकेकाे थियाे। उ आमाकाे खबर पाइरहन चाहन्थी र पनि बेखबर भइरही।

रुखाे खाेलाे बाैलाउन्या नाई, कर्नाली सुक्न्या नाई। 
चिठी पठाउँ हुलाकी नाई, खबर पुग्न्या नाई।।
बाेक्ता बाेक्तै मल पुगेन, तल्ला सेरीकन।
सउँराडी लागेन हाे कि, आमा मेरीकन??

एकदिन पुल्तीसराकाे देब्राे आँखाे फरफरायाे। घर अगाडि काग करायाे। उसले साेची माइती देशमा केही अपसकुन भइरहेकाे छ। सम्हालिन थालेकी उसकाे मनमा आँधि आयाे। बैचैनी हिउँद मास तराईमा सितलहर बढेजस्तै गरि बढ्याे। मन उथलपुथल भयाे। नभन्दै रैबारे आएर भनिदिए दाँतेओग्डमा आमालाई अप्ठ्यारो छ, झट्ट आउनू।

ऊ आँखा नदेखि उकालाे लागी। छकल्या पानी पुगेपछि लेखबाट ओरालाे लागी। उसकाे जीउ गल्याे, ओठ, मुख सुके। मनमा अनेक कुरा खेलाई। आमाकाे मुहार सम्झी।

छाेरीकाे प्रेम विछाेडिएकाे बेलाकाे बैचन भएकाे आमा मन सम्झी, हरेक दिन पुल्तीसरा भनेर घुर्‍याएकाे आवाज सम्झी, सानैदेखि लडिबुडी गरेकाे आमाकाे काेख सम्झी। 

घर पुग्ने बेला चाल पाई आमा मुहार कहिल्यै नदेखिने भैगाे भनेर। फेरि एकपल्ट नसनेचेकाे बेहाेरी। 'आमाकाे साैंराइ लागे फुपू भेट्न जानू, बाबाकाे साैंराइ मामा भेट्न जानू' भन्ने उखान झैं उसका मामा र फुपूकाे मुख हेर्न कहिलेकाहीँ गइरहन्थी तर पनि आमाकाे साैंराइ मेटिएन। आमा देख्न कहिले नपाइने भएपछि विरहकाे मुल फुटि नै रहयाे।

चारै ढुङ्गी चाैखुड्यैला, काेइ ढुंगी टेकाैना?
आमा हाम्मी स्वार्ग लाेग, काेइ जुनी देखाैना??

घर–व्यवहार आफ्नै हात आएपछि, डाडुपन्यु आफैँ चलाउन थालेपछि पनि पुल्तीसरा स्वतन्त्र थिइन। डाडुपन्यू चलाउन अन्न नहुँदा लालाबालाकाे मुखमा माड पसाउने समस्या हुन्थ्यो। यस्ताे बेला मन बढी आसे हुने रहेछ। सजिलै दानापानी दिने आमाकाे याद झन् आउँदाे रहेछ।

अत्तोपत्तो (अर्ती उपदेश दिने) लाउने आमाकाे याद खुब आउँदाे रहेछ। हरेक वर्ष माइत जाँदा आमा मुहार नदेख्दा, 'छाेरी भात खान्या बेला भैगाे' भनी घुर्‍याएकाे आवाज नसुन्दा उ खल्लाे महसुस गर्छे। साथिसंगीका आमाछाेरी सँगै हाँसखेल गरेकाे देख्दा, आमाले छाेराेछाेरी खेलाएकाे देख्दा ऊ भावुक हुन्छ। आँसु पनि बर्खामासकाे माैसमजस्ताे हुन्छ।

रुँदारुँदै माइतबाट फर्किएपछि सपना, विपनामा, घरखेत, वनपाखा जता जाँदा पनि झझल्को आमाकै आउँछ। अनि खेत गाेड्दा गाेड्दै खेतकाे डिलमा बस्दा, मकै, आलु, सिमी गाेड्दा गाेड्दै गराकाे बीचमा थकाइ मार्ने बेला गाला हात लगाएपछि अनायासै फुर्छ ठाडी भाका। 

माथिउनाे गाेठालाे आयाे, नापा दही दियाले।
उठिजा बसिजा भन्या, जिया (आमा) भइदियाले।।
चाैखुड्यैलाे ढुंगाे पाया, चाैताराे चिन्ना हुँ।
आमै भुन्या साइनाे पाया, माेल हाली किन्ना हुँ।।

लालाबाला ठूला भएर हुर्केपछि लाेग्नेकाे माया लाग्ने भइसकेकाे हुन्छ। पुल्तीसरा ढिलाे गरी पलाएकाे मायाकाे संसारमा रमाउन पाउँदिन। सबैका लाेग्ने स्वास्नी हाँसखेल गरिरहेकाे समयमा उसकाे लाेग्नेले संसार छाेड्छ। जाेडीकाे घरबार छुटेपछि, लालाबाला टाेक्या भएपछि फेरि भक्कानिनुकाे विकल्प थिएन।

बिहे गरेर आएकाे समयमा लाेग्ने स्वास्नीकाे कुराकानी समाजले बर्जित गरेकाे थियाे। जब थाेरै माया लागेर धक फुकेकाे हुन्छ तब घरकाे लाेग्नेलाई समेत समयले परलाेल पुर्‍याएपछि उसलाई प्रश्न गर्न मन लाग्छ सधैँ मैमाथि बज्रपात किन हुन्छ?

सबै गया माइका थान, गाैरा किन गैन?
सबैकाे जाेडीकाे घरबार, मेराे किन भैन??

ऊ विष लागेकाे माछाझैं लट्ठिई। एकाेहाेरिन थाली। उमेरले स्वर बसे पनि भावना बसेन। वारि चेर्‍या चाैर, पारि धिमी चाैर हुँदै बगेकाे जुगाड खाेलामा बह बगाउँछ। दु:खमा काेही आफ्ना नभएपछि ठाडी भाका साहारा बन्छ। 

राेजीका चल्ठाैँदा खाना, जाेगीका जाेई न पाेइ।
सुख भया संसार आफ्नाे, दु:ख पड्या काेही न काेई।।

अब उसलाई बुढेसकालले छाेएजस्ताे लागिरहेको छ। आफू डाडामाथिकाे घाम हुँ भन्न थालिसकेकी छ। सत्ताले कर्णालीकाे लागि नापेकाे आयु पनि सकिसकेकाे छ। अब त जिन्दगी पनि नाफामा चलिरहेको छ तर बुढेसकालमा उसलाई म छु भन्या काेही छैनन् जस्ताे लाग्छ। लगिमानी प्रथा लगभग हटिसकेकाे छ। मुखियाहरु छैनन् तर ठालुहरु उस्यै छन्। उनीहरु चुनाव आउँदा डाेकाेभरी आश्वासन बाेकेर आउँछन्। तर दु:ख परेकाे बेला काेही हुँदैनन्। केही गर्दैनन्।

ठेकाे ढल्याे मइ पाेखियाे, भाइ मेराे लडेकाे।।
अचुल मुख काे हेर्न्या छ, विपत्ता पडेकाे।।

– अघिल्लो शृङ्खलामा भनिएजस्ताे पुल्तीसराकाे सग्लाे चरित्र निर्माणमा याेगदान पुर्‍याउने असली पात्रहरु जुम्ला डाँडाकाेटकी गंगा सार्की (४५), शान्ति सार्की (४७), तारा सार्की (३६), टीका सार्की (४५), बास्मती सार्की (३९) हुन। 

समग्र देशकाे ओैसत आयु मापन गर्दा उनीहरुकाे जीवन भाेगाइ लेखाजोखा गर्ने उमेर याे हाेइन। तर लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै जाेवन जान थालेपछि याे उमेर समूह जीवनकाे उत्तरार्धमा छ भन्दा फरक नपर्ला। याे किन भनी गरिएकाे प्रश्नकाे उत्तर शृङ्खला–१ काे सुरुमै भनिएझैं फेरि पनि काठमाडौंकाे सत्ता नै हाे। 

(समग्रमा माथि उल्लेख गरिएका पात्रहरुकै कारण नै यस कथाकी पात्र  पुल्तीसराकाे जन्म भएको छ।)


जुम्लाकी पुल्तीसरा जसले १३ वर्षको उमेरमै नर्क भोगिन् (भिडियो)


जुम्ली ठाडीभाका श्रृङ्खला भाग-  १ 

प्रकाशित मिति: : 2021-08-14 20:56:00

प्रतिकृया दिनुहोस्