उपचारका लागि दैनिक औषत चार सय बिरामी पुग्ने मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको ओपीडी सेवा बन्द भएको छ।
बिरामीको नाम दर्ता गर्ने शाखा काउण्टरका चार जनामध्ये तीन जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबार देखि अस्पतालको सेवा बन्द भएको हो।
अस्पतालका सुचना अधिकारी निराजन पौडेलका अनुसार कुल ५३ जना जनशक्ति रहेको अस्पतालमा ८ जनालाई पोजेटिभ भएको छ। अस्पतालमा प्राविधिक जनशक्ति कम छ। बिरामीको चाप उच्च छ।
केही कर्मचारी र प्राविधिकहरु भर्खर काममा फर्किएका छन्। कर्मचारी र प्राविधिक जनशक्तिको अभाव भएपछि काम एक साताका लागि ओपिडी सेवा बन्द गरिएको हो।
पूर्व-पश्चिम राजमार्ग सँगै जोडिएको अस्पतालमा पूर्व मोरङका ५ वटा स्थानीय तहका बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन्।
उर्लाबारी, पथरीशनिश्चरे ,लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य बीमा गरेका बिरामीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई पहिलो उपचार सेवा केन्द्रका रुपमा रोजेका छन्।
मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढेको समयमा अस्पतालको ओपिडि सेवा बन्द हुँदा सर्वसाधरण बिरामी महँगो नीजि अस्पताल जान बाध्य भएका छन्।
अस्पतालमा हाल ३ जना विशेषज्ञ डाक्टर, १ जना एमजीडिपी, १ जना एनेस्थिएसन र ३ जना मेडिकल अधिकृतले सेवा दिँदै आएका छन्।