अफगानिस्तानबाट नेपाली नागरिकलाई फर्काउन माग गर्दै युवा संघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालले द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली नागरिकलाई यथाशिघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ।

युवा संघका महासचिव दिपक जिएमको नेतृत्वमा आज सिंहदरबार गएको टोलीले नेपाली नागरिकलाई सुरक्षित रुपले स्वदेश फर्काउन माग गरिएको हो।

द्वन्द्वग्रस्त क्षेत्रबाट विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित रुपले स्वदेश फर्काउन थालिसकेको भए पनि नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिलाई गरेकोमा संघले आपत्ति जनाएको छ।

‘श्रमिकका रुपमा रहेका सम्पुर्ण नेपालीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर यथाशिघ्र नेपाल फर्काउन तत्काल आवश्यक कुटनैतिक, राजनैतिक र मानवीय पहल गर्न नेपाल सरकारलाई युवा संघ नेपाल जोडदार माग गर्दछ’, संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपालबाट श्रम स्वीकृती लिइ अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी र सरकारको अभिलेखमा नरहेका काम गर्दै आएका अनुमानित ५ हजार गरी जम्मा २०÷२१ हजार नेपाली नागरिकहरु अफगानिस्तानको घरेलु द्वन्द्वको जोखिममा रहेको कुराको संघले ध्यानाकर्षण गराएको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए।

'विश्व कोभिड महामारीबाट आक्रान्त भइरहेको र महामारीबाट जोगिन विश्व समुदाय एकताबद्ध भएर लडिरहेका बेलामा सार्कको सदस्य राष्ट्र अफगानिस्तान भने नराम्रोसंग घरेलु गृह युद्धको चपेटामा फसेको छ। राजधानी काबुललगायत सिंगो देशमा बिद्रोही तालिबानको आक्रमण बढ्दै गएको छ। हिंसात्मक कृयाकलाप, आत्माघाती बम प्रहारबाट जनधनको क्षति भइरहेको घटनाका साथै मानव अधिकार उलंघनको घटनाप्रति युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ। यस घटनाबाट १२ जना नेपाली नागरिकको मृत्यु भएको खबरले युवा संघ दुखी र स्तब्ध भएको छ। सो घटनाबाट मृत्युवरण गर्ने सबै मृतक प्रति हादिक श्रद्धाञ्जली व्यक्त गर्दै संघले दुख व्यक्त गर्दछौँ,' ज्ञापनपत्रमा भनिएको छ।

प्रकाशित मिति: : 2021-08-15 18:35:00

प्रतिकृया दिनुहोस्