अवैध स्याउसहित एक पक्राउ

File photo
File photo

अवैध रुपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज बरामद गरेको छ।

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२  मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ बरामद भएको छ। 

सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो।

आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-08-16 20:34:00

प्रतिकृया दिनुहोस्