हेलिकप्टरमा पैसा भरेर यसरी भागेका थिए अफगानी राष्ट्रपति घानी 

Photo : AP
Photo : AP

विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेसँगै यतिबेला विश्वको ध्यान अफगानिस्तानतर्फ छ।

आइतबार साँझ तालिबानले राष्ट्रपति भवन कब्जा गर्नुअगावै राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए। उनले देश छाडेर भागेसँगै पछिल्लो समय विभिन्न टिकाटीप्पणीहरु सुरु भएको छ।

एकातिर राष्ट्रपति घानीले भागेर देशलाई हिंसात्मक गतिविधि र रक्तपात हुनबाट बचाएको भन्दै सकारात्मक चर्चा सुरु भएको छ भने अर्कोतिर देशलाई खतरामा धकेलेर आफू भागेको भन्दै नकारात्मक चर्चा सुरु भएको छ।

त्यसो त, उनी आइतबार साँझ काबुलस्थित विमानस्थलबाट ताजिकिस्तानतर्फ गएको समाचारहरु आए पनि यसबारै कुनै ठोस प्रमाण आएको छैन।

उनी विमानस्थलबाट ताजिकिस्तान गए वा अन्य देशमा गए भन्नेबारे विश्वभर नै अन्यौलता छाएको छ। उनी ताजिकिस्तान गएको भनिए पनि उनी अझैसम्म सम्पर्कमा आएका छैनन्।

राष्ट्रपति घानीनिकटका उच्च अधिकारीहरुले नै उनी ताजिकिस्तान नगएर ओमान वा कजाकिस्तान गएको दावी गरेका छन्। उनी ठ्याक्कै अहिले कहाँ छन् भन्नेबारे कुनै निश्चित जानकारी आएको छैन। तर अधिकारीहरुले भने घानी ओमान हुँदै अमेरिका जाने तयारीमा रहेको बताउँदै आएका छन्।

यसैबीच घानीको बारेमा नयाँ रहस्य खुलासा भएको छ। उनले काबुलस्थित विमानस्थलबाट चार वटा कार र एउटा हेलिकप्टरमा पैसा लिएर भागेको रहस्य खुल्न आएको हो।

घानीले चार महंगा कारसहित हेलिकप्टरभित्र बोरामा पैसा राखेर अज्ञात ठाउँमा भागेको अफगानिस्तानस्थित रूसी दूतावासकी प्रवक्ता निकिता इस्चेकाेले बताएकी छन्।

प्रवक्ता इस्चेकाेले हेलिकप्टरमा पैसा नअटाउँदा केही पैसाहरु विमानस्थलमा छरपस्ट भएर झरेको बताएकी हुन्। उनले भनेकी छन्, 'घानीले देश छाडेर भाग्दा पैसाले भरिएको एउटा हेलिकप्टर पनि सँगै उडेको थियो। हेलिकप्टरमा नअटाएपछि केही पैसा भने भुँइमा छरपस्ट भएर खसेका थिए।'

त्यसो त रूसी समाचार एजेन्सी आरआईएले पनि राष्ट्रपति घानीले हेलिकप्टरमा भर्न खोजेको पैसा नअटाउँदा भुँइभरी छरिएको उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2021-08-17 19:50:00

प्रतिकृया दिनुहोस्