इजरायलको महिनौं लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ। धेरै परिवारहरू दैनिक भोकमरीको सामना गरिरहेका छन्।
हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो। मार्च १८ मा उसले गाजामा पुनः आक्रमण सुरु गरेको थियो।
खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दाहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन्।
‘४०० ग्रामको पीठोको झोला- यसले के गर्न सक्छ? यसले आठ वा नौ टुक्रा रोटी बनाउँछ। दिनको एक छाक मात्र। हामी भोक नलागी सुत्न सकौं भनेर मात्र बेलुकाको खाना खान्छौं, ताकि बच्चाहरू निदाउन सकून्,’ विस्थापित गाजाका अशरफ अलसुवैरले भने।
उत्तरी गाजाको बेत लाहियाबाट विस्थापित भएका तहरीर अबु जबलले अलसुवैरको चिन्ताप्रति सहमति जनाउँदै भनिन्, ‘आपूर्तिको अभावले जीवन अत्यन्तै कठिन बनाएको छ। विशेष गरी ठूला परिवारहरूको लागि।’
‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ? तिनीहरूले कसरी खुवाउने? त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’ उनले भनिन्।
अप्रिलको अन्त्यमा जारी गरिएको एक विज्ञप्तिमा, ‘विश्व खाद्य कार्यक्रम’ले सीमा नाकाहरू निरन्तर बन्द हुँदा गाजामा खाद्यान्न आपूर्ति सकिएको बताएको छ। नयाँ सहायता ल्याउने कुनै उपाय नभएको कारणले गर्दा यस क्षेत्रमा भोकमरी संकट अझ बढ्ने अपेक्षा गरिएको छ।
‘गाजामा अनिकाल बढ्दै गइरहेको छ, किनकि दर्जनौं सामुदायिक भान्साहरू, जसले पहिले प्रति दिन ५,००,००० खाना प्रदान गर्थे, ति बन्द गर्ने घोषणा गरेका छन्। किनकि तिनीहरू अब आपूर्तिको अभावका कारण जारी राख्न सक्दैनन्’, गाजामा प्यालेस्टिनी गैरसरकारी संस्था नेटवर्कका निर्देशक अमजद अल शावाले भने।
अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणपछि गाजामा इजरायलको सैन्य अभियान सुरु भएको थियो। जसमा हालसम्म ५२,९२८ प्यालेस्टिनीहरूको मृत्यु भएको गाजा स्वास्थ्य अधिकारीहरूले बताएका छन्।