बाढीपहिरोले प्रभावित क्षेत्रमा पुगे उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।

साेमबार मन्त्री श्रेष्ठ पातारासी गाउँपालिका-३ छुम गाउँमा पुगी बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्।

साउन १२ गते बाढी पहिराेका कारण छुम गाउँकि एम महिलाको मृत्यु भएको थियो भने २५ पशु चौपाय बगाएर लगेको थियो। बाढीपहिरोले दर्जनभन्दा बढी काठेपुल बगाउनुका साथै अन्नबाली पुर्णरुपमा क्षति गरेको थियो। पिठो पिस्ने दर्जन बढी घट्ट पुरेको थियो।

बाढी प्रभावित गाउँमा पुगेका उर्जामन्त्री श्रेष्ठले तत्काल राहतको लागि पहल थाल्ने बताएका छन्। 'बाढीपहिरो पीडितको समस्या प्रभावकारी ढंगले सम्बाेधन गर्नका लागि गाउँमा पुगेका छौं,' उनले भने, 'जिल्लामै हुन सक्ने काम मन्त्रालय माताहतका कार्यालयबाट गर्न निर्देशन दिन्छु। जिल्लामा नहुने सहयोग प्रदेश सरकारले गर्नेछ।'

उनका अनुसार तत्काल प्राकृतिक विपद्को घटनाको संवोधन गर्न विशेष पहल गरिनेछ। यहाँको प्राकृतिक प्रकोप जोखिमको पहिचान गर्ने र रोकथामका लागि गर्नुपर्ने सबै काम गर्न मन्त्रालय तयार छ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा, मन्त्रालय माताहतका कार्यालयमा र क्याविनेटमा समेत बाढीपहिराे पीडित नागरिकले बाढीपहिरोबाट भोग्नु परेको समस्या सम्बाेधनका लागि छलफल चलाउने बताए।

स्थानीय रणबहादुर महताराले गाउँमा बाढीले गरेको क्षतिले आजित किसानको घरदैलोमा पुगेर उर्जा दिएकोमा मन्त्री प्रति खुशी व्यक्त गरे। 'अहिलेसम्म गाउँमा बाढीपहिरोको कुनै पनि घटना भएको थिएन। पहिरो आउँछ भन्ने कल्पनासमेत गरेका थिएनौं,' उनले भने, 'सहयोग पाएकाे दिन सारा पीडितहरुकाे घाउ निकाे हुनेछ।'

उनले पुर्खादेखि नसुनेको र नदेखेको बाढीपहिरो आएपछि आफूहरु पीडित बनेकाे बताए। उनका अनुसार बाढीपहिरोले १२ वटा घट्ट,२५ वटा पशुचौपाय, एक जना मान्छे र खेतियोग्य जमिन सबै बगाएर लगेको थियो।

यो सँगै घरीखोला भगवती मन्दिर आसपासको क्षेत्र क्षतिग्रस्त भएको छ। मन्दिर आसपासका २२ वटा धारा बगेका छन्। पहिरोले पुर्खाहरुका शिला र चिन्हहरु समेत बगाएर  लिइएको उनी बताउँछन्।

स्याउ, ओखर नर्सरी, आलु, मकै, सिमी, चिनो, कागुनो र कोदो समेत बगाएर लगेको किसानहरुकाे गुनासो छ। गाउँभित्रका १ सय ७५ घर धुरीको झण्डै ६० हल जमिन बाढीपहिरोले बगाएको हो।

'पहिरोले गाउँको सुन्दरता गुमेकाे छ। रोजीरोटी खोसिएकाे। हिड्ने पुलपुलेसा बगेका छन्। बिजोग अवस्था छ। मन्त्री ज्यु, तत्काल प्रदेश सरकारको ध्यान जावस्', पीडितहरु यसै भनिरहेका छन्।

बाढीपहिरो पीडितले प्रहरी मुचुल्कासहित पातारासी गाउँपालिकामा पेस गरिसकेका छन्। अहिले अन्न पिस्ने घट्ट बगाउँदा रोटी खानबाट बञ्चित छन्। पुल नहुदा हिँडडुल गर्न सकस छ। सेतो चामलको भात र आलुको खान्की हुने गरेको स्थानीय बताउँछन्।

७ वटा खहरे खोलाबाट आएको बाढी पहिरोले छुमखोलो कटान गरेर खेतियोग्य जमिन बगरमा परिणत गरेको छ। पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोराले गाउँपालिकामा ठूलै विपत्ती आइलागेको बताए।

'यहाँका बाढीपीडितको समस्या समाधानका लागि कहाँबाट के व्यवस्थापन गर्न सकिन्छ, सबै क्षेत्रमा पहल भइराखेको छ,' उनले भने, 'सामान्य रकमले यहाँको क्षति पुर्ति होला जस्तो देखिदैन। तर स्थानीय सरकारले तत्काल राहतका कार्यक्रमका लागि पहल थालिरहेको छ।'

उनका अनुसार छुमखोला, चौर खोला र लुम खोलामा एक्कासी बाढीपहिरो आउँदा ठूलो क्षति पुगेको छ। 'बाढीपहिरोले झण्डै ८० मिटर सडक लगेको छ। तत्काल गर्नुपर्ने काम गर्न भनिसकेका छौं। सदरमुकाम खलंगामा रहेको व्यापारी व्यवसायी सँग सल्लाह गरेर उधारो सामाग्री दिनको लागि भनिसकेका छौं,' उनले भने, 'त्यसको व्यवस्थापन गाउँपालिकाले गर्ने तयारी भइरहेको छ।'

उर्जामन्त्रीसँगै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईं,नेपाल प्रहरीका डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ पनि बाढीग्रस्त क्षेत्रमा पुगेका थिए।

उर्जामन्त्री श्रेष्ठले मंगलबार बिहान विपद् व्यवस्थापन समितिको बैठक बसाल्न लगाएका छन्। उनले विपद व्यवस्थापन समितिमा पनि यहाँका बाढी पहिरो र पीडितको समस्या संवोधनका लागि छलफल हुने बताए।

मन्त्री श्रेष्ठले जुम्ला तिला, तातोपानी, सिँजा र कनकासुन्दरी गाउँपालिकामा बाढी पहिरोले पुर्‍याएको क्षेतिको बारेमा अवलोकन तथा बाढीप्रभावित स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-17 08:45:00

प्रतिकृया दिनुहोस्