सभामुखसमेत सामेल भएर छापामार शैलीमा संसद् अधिवेशन अन्त्य गरियो : सुवास नेम्वाङ

फाइल तस्वीर
फाइल तस्वीर

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटासमेत सामेल भएर संघीय संसद्को अधिवेशन छापामार शैलीमा अन्त्य गरेको आरोप लगाएका छन्।

पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले सभामुखले संसद् अधिवेशन अन्त्यको पत्र आफैँले केहीबेरअघि सरकारलाई ‘रुलिङ’ गरेको बैठकमा पढेको उनले जानकारी दिए।

‘संसद् अधिवेशन उनीहरुले भन्ने गर्छन् नि ‘छापामार शैली’ भनेर ! साँच्चिकै  झुक्याएर खुसुक्क हिजो अधिवेशन समापन गरे। हामीलाई त सुइँको त के, छनकसम्म पनि थिएन’, बिएल नेपाली सेवासँग उनले भने, ‘प्रतिपक्षलाई फिटिक्कै थाहा थिएन। कतिसम्म भने हिजो दिउँसो बैठक बस्नुभन्दा अगाडि हामीले अफगानिस्तान इत्यादि विषयमा ढ्यापढ्याप भनेर समय लिनुभन्दा अगाडि सभामुखसँग भेटेका थियौँ। उहाँले म रुलिङ गर्छु, सरकारलाई अर्को बैठकमा बोलाउँछु भनर ‘कमिटमेन्ट’ गर्नुभो। हाउसमा उनले रुलिङ गर्नुभो– अर्को बैठकमा सरकार आऊ, अफगानिस्तानका नेपालीबारे के गरेका छौ भन भनेर।’

त्यसको एकछिनपछि उनै सभामुख सापकोटाले राति १२ बजेपछि संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएको बताए। ‘सभामुख पनि समेल भए यसमा भन्ने देखिन्छ। रुलिङ गरे अनि एकैछिनमा राति १२ बजेपछि अधिवेशन अन्त्य भनेर पत्र पढ्नु संयोग होइन’, उनले भने।

प्रतिनिधिसभाको सोमबारकै बैठकमा सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट आएको विधेयकहरु हाउसमा पेश गरेका थिए। त्यसअघि संसद्मा आएका विधेयकहरु पनि थिए। उनले भने, ‘तर  यो एक महिनाभन्दा बढी समयदेखि फिटिक्क काम भएको छैन। एउटा सिन्को नभाँची अचानक यसरी संसद अन्त्य गर्नुपर्ने कारण के प-यो ?’

नेम्वाङले चलिरहेको संसद् अन्त्य गरी अध्यादेश ल्याउनु लोकतन्त्र र विधिको शासनविपरीत भएकाले त्यसलाई प्रतिवाद गर्ने पनि बताए।

प्रकाशित मिति: : 2021-08-17 13:38:00

प्रतिकृया दिनुहोस्