नयाँ पार्टी दर्ता गर्ने गृहकार्यमा छौं, उपेन्द्र यादवसँग सँगै रहने अवस्था छैन: लक्ष्मणलाल कर्ण

जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको बताएका छन्।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनले यस्तो बताएका हुन्। उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गरिने बताएका हुन्।

मंगलबार (आज) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा स्वागत गर्दै उनले भने ‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत् काम हो। संविधानले यो अधिकार दिएको छ।'

'अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें, यदि आएको हो भने संविधानसम्मत् हो। हामी अहिले सर्वोच्च अदालत गएका छौं। निर्वाचन आयोगले उपेन्द्र यदावको पक्षलाई आधिकारिकता दियो। त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन्। तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं।’, उनले भने।

उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने पनि बताए। उनले भने,‘नेपाली जहाँसुकै भए पनि सरकारको यो प्रथम कर्तव्य हो, त्यसको उद्धार र राहत गर्ने दायित्व हो। अफगानिस्तानमा अहिलेको अवस्था असामान्य छ, यो कारणले विभिन्न मुलुकका नागरिक त्यहाँ बसिररहेका छन्, ती देशले आ–आफ्नो नागरिकलाई बचाउने र राहत दिने काम सुरु गरेका छन्। हाम्रो सरकारले पनि प्राथमिकता दिनुपर्छ।’

प्रकाशित मिति: : 2021-08-17 18:18:00

प्रतिकृया दिनुहोस्