मुगुमा मास्क बैंक सञ्चालन

मुगुमा मास्क बैंक स्थापना गरिएको छ। लायन्स क्लव अफ रारा मुगुको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणबाट जाेगिन भन्दै मास्क बैंक स्थापना गरिएको हो। 

'हुनेले दिँउ, नहुनेले लिँउ' नारासहित मास्क बैंक सञ्चालन गरिएको लायन्स क्लब अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले बताए।

'छायानाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायानाथ सहकारी, मुगु उद्योग वाणिज्य संघ, एनआईसी एसिया बैंक, महाकाली नमुना माध्यमिक विद्यालय, नेपाल पत्रकार महासंघ मुगु, हाम्रो सानो प्रयास काठमाडौं लगायतले मास्क सहयोग गरेका छन्,' उनले भने।

उनका अनुसार मुगुका गाउँघर, बजार तथा बाटोघाटोमा बिनामास्कका नागरिकको चहलपहल बढेकाे छ। कोरोना संक्रमणले भयावह रुप लिने देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेकालाई निःशुल्क मास्क दिन र दुई पैसा भएकाहरूले मास्क दान गरुन् भन्ने उद्देश्यले बैंक संचालन गरिएकाे हाे।

'पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गर्दै बैंक सञ्चालन गरेका छौं,' मल्ल थपे, 'दाताको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैंक स्थापना गरिनेछ।'

प्रकाशित मिति: : 2021-08-17 21:44:00

प्रतिकृया दिनुहोस्