टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो। चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो।

नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माण गर्ने चुनौतीसमेत थियो। नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुनःनिर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुनःनिर्माणका लागि रकम उपलब्ध गराइसकेको छ।

मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पु¥याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ। वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पु¥याउने लक्ष्य राखिएको छ।

नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ।

नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन्। त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ। नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ।

नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ। नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउछन्।

प्रकाशित मिति: : 2021-08-19 09:57:00

प्रतिकृया दिनुहोस्