'लक्षण देखिएर पनि कोरोना पोजेटिभ नभए ट्वीन्डेमिक भएकाे हुनसक्छ'

हिमाल खबर

काठमाडौँ

केही महीनायता ट्वीन्डेमिक फ्लूको संक्रमण बढ्न थालेको छ। कोरोनाको जस्तै लक्षण भएकाले यसले संक्रमित र स्वास्थ्यकर्मीलाई समेत अलमलमा पार्ने गरेको छ। नयाँ फ्लू भएकाले यसको बारेमा अध्ययन, अनुसन्धान पनि पर्याप्त भएको पाइँदैन। यसको लक्षण, जोगिन अपनाउनुपर्ने उपाय लगायतबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीः 

ट्वीन्डेमिक  कस्तो खालको रोग हो? 

यति वेला कोभिड–१९ महामारी छ। बर्खाको समय फ्लूको पनि ‘सिजन’ हो। ट्वीन्डेमिक एक प्रकारको फ्लू हो। यसले कोभिड-१९ को जस्तै अवस्था सिर्जना गर्ने र लक्षण पनि मिल्ने भएकाले ट्वीन्डेमिक नामकरण गरिएको हो। यो वर्ष अर्थात् सन् २०२१ को शुरूआतदेखि यसको संक्रमण बढ्दै गएको छ। जुलाई महीनायता दुई हप्ताको फरकमा दुई गुणाले बढेको देखिन्छ। परीक्षण नै नगराएको, तर समुदायस्तरमा यसबाट प्रभावित कति होलान्? अनुमान लगाउन गाह्रो छ। 

ट्वीन्डेमिकका लक्षण कोरोनाभाइरससँग मिल्दा छन् भनिन्छ नि? 

काेराेना र ट्वीन्डेमिक फरक भाइरस भए पनि यो दुईवटै सर्ने तरिका एउटै हो। तर, यसको उपचार गर्ने पद्धति फरक छ। ट्वीन्डेमिक र कोभिड दुवै श्वासप्रश्वासनको समस्याबाट शुरू हुन्छन्। दुवैमा ज्वरो, खोकी, जिउ दुख्ने र घाँटी दुख्ने हुन्छ। तसर्थ, ट्वीन्डेमिक छुट्याउन लक्षण मात्रै पर्याप्त हुँदैन। कोरोना संक्रमितलाई चाहिँ स्वाद, गन्ध थाहा नपाउने अथवा त्यसमा ह्रास आउने हुन्छ। अर्को कुरा, ट्वीन्डेमिकको लक्षण २/३ दिनमा देखिन्छ भने कोरोनामा सामान्यतया ५/६ दिन लाग्छ। लक्षण मिल्दोजुल्दो भएकै कारण ट्वीन्डेमिक हामी स्वास्थ्यकर्मीका लागि पनि चुनौतीपूर्ण छ।

नेपाल जस्तो स्वास्थ्य क्षेत्र व्यवस्थित नभएको मुलुकका लागि ट्वीन्डेमिकको प्रभाव कस्तो पर्ने देखिन्छ?

ट्वीन्डेमिक शुरूआतमै नेपाल लगायत केही देशमा फैलिएकाे छ। यदि विकसित देशमा फैलिएको हुँदो हो त अध्ययन, अनुसन्धान अगाडि बढाएर रोकथामको उपाय खोजिन्थ्यो। तर, हामी यसको भोलिको अवस्था यस्तै होला भनेर अनुमान गर्नसक्ने अवस्थामा छैनौं। दु:खद कुरा चाहिं,  ट्वीन्डेमिक र कोभिडको सम्मिश्रण भयो भने पाँच गुणा मृत्युदर बढ्छ भन्ने निचोड अमेरिकन र पश्चिमा देशका वैज्ञानिकहरूको अनुसन्धानले निकालेको छ।
 

प्रकाशित मिति: : 2021-08-19 17:59:00

प्रतिकृया दिनुहोस्