नेपाललाई अफगानिस्तानको पाठ : तालिबानभन्दा भ्रष्टाचार खतरनाक !

रातोपाटी

अन्वेषण अधिकारी

कापी–कलम किन्ने पैसा नभएपछि एक बालकको मस्तिस्कमा भगवान गुहार्ने योजना फुर्यो। उनले १० रुपैयाँ माग्दै भगवानका नाममा चिट्ठी लेखे, राजालाई भगवान ठान्ने हुलाकका एक कर्मचारीले उक्त पत्र दरबार पठाइदिए । राजाले आफ्ना अर्थमन्त्रीलाई रकम निकासा गर्न आदेश दिए, मन्त्रीले ५ रुपैयाँ आफैंसँग राखेर बाँकी ५ रुपैयाँ पठाइदिए, ५ रुपैयाँ बोकेर बालकको घरमा गएका कर्मचारीले बाँकी ३ रुपैयाँ खाइदिए । अन्त्यमा, बालकको हातमा २ रुपैयाँमात्रै पर्‍यो ।

घोटाला गर्नेहरुसँग दिक्दार भएका ती बालकले अर्को चिट्ठी लेखे : भगवान, तपाईलाई धन्यवाद, तर तपाईले मेरा लागि पठाएको पैसा खाने राजा र उनका कर्मचारीको कहिल्यै भलो नहोस् ।’ पत्र पढेर राजा खिन्न भए । तर, जनतामाझ अलोकप्रिय राजाको सत्ता ती घुस्याहाकै भरमा टिकेको थियो, उनले केही सुधार गर्नेवाला थिएनन् ।

प्रसङ्गलाई अफगानिस्तानसँग जोडौं, जहाँको सरकार यस्तै घुस्याहा थियो । त्यहीकारण अमेरिकी सैनिकहरुको बर्हिगमनले पूर्णता पाउनुअगावै ढल्यो ।

अमेरिकी सेना फर्किएपछि ढिलो–चाँडो यो सरकार ढल्छ भन्ने सबैलाई थाहा थियो, तर यति चाडैं अफगानी सैनिकहरु लाचार होलान् भन्ने अनुमान सत्ता कब्जा गर्ने तालिबानी विद्रोहीसमेतको थिएन ।

अफगानिस्तानमा अमेरिकाले झन्डै २ दशमलव ३ ट्रिलियन डलर खर्च गर्‍यो । अन्य विदेशी निकायहरुले पनि यहाँ ठूलो रकम खन्याएका थिए । यसमध्ये २००२ मा अफगानिस्तानलाई दिइएको विकास सहयोग १.३ बिलियन डलर थियो, २०१८ मा आइपुग्दा यो बढेर ७.९ बिलियन डलर पुग्यो । तर, आमजनताको जीवनस्तरमा दिनानुदिन बिग्रदैं थियो । जनताका नाममा आउने सहयोग रकमको ठूलो हिस्सा अन्तर्राष्ट्रिय एजेन्सी, एनजीओ/आईएनजीओे र ठेकेदारहरुको कमिशनमै खर्च हुने गरेको थियो । बाँकी रकममा घुस्याहा कर्मचारी, आपराधिक गिरोह, माफियाको ठूलो चलखेल भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुचना संकलनको नाममा युद्ध सरदार, गर्भनर,सांसद् र धार्मिक नेताहरुलाई पनि सीआईएले रकम बाँड्ने गरेको थियो ।

प्रकाशित मिति: : 2021-08-20 15:00:00

प्रतिकृया दिनुहोस्