तेस्राे नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड-२०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका सात चलचित्र प्रदर्शन गरिने भएको छ।
२७औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा सात वटा चलचित्र प्रदर्शन गरिने महासंघका महासचिव नरेन्द्र थापाले जानकारी दिए।
महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यूयोर्ककाे ज्याक्सन हाइटस्थित गुल्सन ट्यारेशमा आयोजना हुँदैछ। यतिबेला विभिन्न नारासहित विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइदै छ।
विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका सात वटा चलचित्र प्रदर्शन गर्न लागिएको महोत्सव संयोजक तथा महासंघका महासचिव थापाले बताए। महोत्सवमा गुरुङ जातिको 'मि न्होर्वै ट', तामाङ जातिको 'प्रङ्ना', मगर जातिको 'ट्याङचालक', लिम्बु जातिको 'के', राई जातिको 'सायाबुङ', नेवार जाति 'जा मनःगुभाजु', ह्योल्मो जातिको 'मेतोक' प्रदर्शन गरिने भएको हाे।
फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्रमार्फत जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको बताए। अध्यक्ष चेम्जोङले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पुर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाईसहित शुभकामना पनि व्यक्त गरेका छन्।
चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तराष्ट्रियकरण गर्न सघाउ पुर्याउने आयोजकको अपेक्षा छ। नेपाल आदिवासी चलचित्र महोत्सव 'निफ'को यो तेश्रो संस्करण हो।
शनिबार र आइतबार दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ। चलचित्र छनौट समितिले उल्लेखित सात चलचित्र छनौट गरेको थियाे।
महोत्सवमा लोकप्रिय गायकहरु जगदिश समाल मंगोयिन हार्ट राजु लामालगायतले गीत प्रस्तुत गर्दैछन्। कार्यक्रम मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्नेछिन्।