ललितपुर महानगर र जुम्लाको चन्दनाथ नगरपालिकाबीच भागिनी सम्बन्ध

Breaknlinks
Breaknlinks

ललितपुर महानगरपालिका र जुम्लाको चन्दनाथ नगरपालिकाबीच भागिनी सम्बन्ध कायम भएको छ।

विकासका योजना आदान-प्रदान गर्ने उद्देश्यअनुरुप शुक्रबार दुई स्थानीय तहबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

ललितपुरको यल दरबार होटलमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाको तर्फबाट मेयर चिरीबाबु महर्जन र चन्दनाथ नगरपालिकाको तर्फबाट मेयर कान्तिका सेजवालले भागिनी सम्बन्ध (सिस्टर सिटी रिलेशन) सम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए।

उक्त सम्झौतामा हस्ताक्षर भएसँगै अब ललितपुर महानगरपालिका र चन्दनाथ नगरपालिकाबीच योजना तथा  कार्यक्रमको आदान-प्रदान, संस्कृति, परम्परा तथा सीप साटासाट गर्ने मेयर चिरीबाबु महर्जनले बताएका छन्।

चन्दनाथ नगरपालिका मेयर सेजवालको प्रस्तावमा ललितपुर महानगरपालिकाले उक्त सम्झौता गर्न सहमत भएको हो। विश्वका अन्य देशहरुसँग भागिनी सम्बन्धमा जोडिएको ललितपुर पहिलो पटक देशभित्रको स्थानीय तहसँग जोडिएको हो।

चन्दनाथ नगरपालिकासँग यो सम्बन्ध जोड्न पाएकोमा अत्यन्त खुशी भएकाे ललितपुरका मेयर महर्जनले बताएका छन्। ‘यस्तो सम्बन्धमा चन्दनाथ नगरपालिकासँग जोडिन पाउनु हाम्रो लागि ठूलो अवसर हो, हामी मितेनी साइनोमा गासिएका छौं, अब हामीले एकअर्कालाई दुःख सुखमा साथ दिने छौं।’, ललितपुरका मेयर महर्जनले भने।

आफ्नो नगरमा भएका विकासका योजना तथा कार्यक्रमहरु चन्दनाथ नगरपालिकालाई सिकाउने बताउँदै मेयर महर्जनले छिट्टै नयाँ योजना लिएर जुम्ला पुग्ने बताएका छन्।

त्यस्तै, स्थानीय तहबीच यसरी भागिनी सम्बन्ध कायम गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्ने योजना बनाएकी चन्दनाथ नगरपालिकाकी मेयर सेजवालले ललितपुरले आफ्नो प्रस्ताव स्वीकार गरेर सम्झौता जोडेकोमा खुशी लागेको बताएकी छिन्। 

‘हामीले ललितपुर महानगरसँग मितेर साइनो जोड्न पाउँदा खुशी लागेको छ, हाम्रा कम्जोरी सुधार्न ललितपुरले सहयोग गर्ने कुरामा हामी आशावादी छौं,’ मेयर सेजवालले भनिन्,‘हामीले जुम्लाका परम्परा ललितपुरलाई सिकाउने छौं, ललितपुरले पनि हामीलाई विकासका योजनामा सँगै लिएर जानेछ।’

दुबै नगरले प्रदान गर्ने सेवा तथा काम कारवाहीका बारेमा अन्तरक्रिया गरिने, दुबै पक्षबाट सञ्चालन हुने कार्यक्रममा सहभागीताको लागि आह्वान गर्ने, दुबै पक्षका कर्मचारीले काम कारवाहीबारे अनुभव साटासाट गर्ने, नीति, कार्यक्रम, किताब तथा प्रतिवेदन साटासाट गर्ने, दुबैका वेभसाइट लिंक गर्ने, भौतिक संरचनाको विकासमा सहकार्य गर्ने र प्रारम्भिक सहयोग आदान-प्रदान गर्ने लगायतका सम्झौताहरू पत्रमा उल्लेख छन्।

जगनाथ नगरपालिकाले पनि यसअघि काठमाडौं महानगरपालिकासँग भागिनी सम्बन्ध कायम गरेको छ।

प्रकाशित मिति: : 2021-08-20 21:51:00

प्रतिकृया दिनुहोस्