एमालेमै फर्कने ‘तेस्रो धार’को निर्णयले माधव नेपाल समूह थप संकटमा, छलफलका लागि लागे चन्द्रागिरि रिसोर्टतिर 

एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको समूह अप्ठेरोमा परेको छ। आवासीय छलफलका लागि आफू समर्थक सांसद् र केन्द्रीय सदस्य लिएर नेपाल चन्द्रगिरि रिसोर्टतिर लागेका छन्।

लामो समयदेखि नेपाललाई साथ दिँदैआएका ‘तेस्रो धार’ का नेताहरु एमालेमै फर्किने निर्णय गरेपछि नेपालमाथि अस्तित्वको संकट देखिएको हो। नेपालबाहेकलाई समेट्ने ओली रणनीति सफल भएपछि नेपाल समूह आपतमा परेको ओली पक्षको दाबी छ।

नेपाल नेतृत्वमा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा दिएको निवेदनमाथि बुधबार आयोगले सनाखत गर्दैछ । त्यसको दुई दिनअघि नेपाल समूहले आफू पक्षधरहरुलाई रिसोर्टमा लगेर राख्ने व्यवस्था गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बालकोटस्थित उनको निवासमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गरी अघि बढ्ने सहमति भएको थियो। उक्त छलफलमा अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने र उनीसहित दल विभाजनका लागि निवेदन दिने १४ जना सांसद्माथिको कारवाही फिर्ता लिन नसकिने बताए। नेपाल एमालेमा फर्किए स्वतः कारवाहीमुक्त हुने बताए।

एमाले विवादमा नेपाललाई साथ दिँदै आएकामध्ये स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपाने र वेदुराम भुसाल मात्र नेपालसँग रहेका छन्। एमाले स्थायी कमिटी सदस्यमध्ये तीन जना उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावलले नेपाल समूह छाडेका छन्।

त्यसैगरी उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि नेपाललाई दिँदैआएको साथ छाडेका छन्। स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, स्थायी कमिटीका पदेन सदस्य अमृत बोहोराले पनि एमाले नै रोजेपछि नेपाल झन् कमजोर भएका छन्।

अब एमालेमै रहने कि माधव नेपाललाई साथ दिने भन्ने निष्कर्षमा नपुगिसकेका एकजना उपाध्यक्ष वामदेव गौतम मात्र ‘तटस्थ’ भूमिकामा छन्। ओलीले भाउ नदिएका कारण नेपाल समूहमा लाग्ने धम्की दिइरहेका गौतम पनि दोस्रो तहका नेताहरुको निर्णयले एमालेमै लाग्ने संभावना बढेको छ।

साविक एमालेका प्रभावशाली सबै नेता एमालेमै गोलबन्द हुने अवस्था आएकाले नेपाल नेतृत्वमा गठन हुन लागेको नेकपा (एकीकृत समाजवादी) १४ जना सांसद्मध्ये मन्त्री नपाएकाहरु एमालेमै फर्कने संभावना बढेको छ। त्यसो भएमा नेपालको अवस्था अत्यन्त कमजोर हुने छ।

प्रकाशित मिति: : 2021-08-23 17:43:00

प्रतिकृया दिनुहोस्