६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव नेपाल

एमालेको १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाल आज नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए। यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन्।

एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन्। एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन्।

एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ। यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन्।

हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्ट एमालेमै फर्केका छन्। 

प्रकाशित मिति: : 2021-08-25 12:19:00

प्रतिकृया दिनुहोस्