नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?

एमाले विवाद चुलिएर औपचारिक रूपमा दल विभाजन भएकै दिन वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सत्तारोहणको केही दिन नबित्दै अल्पमतमा परिन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि शाक्य नेतृत्व गरेको सरकारको आयु छोटिदै गएको छ। माधव नेपालको नयाँ पार्टीमा एमालेबाट प्रदेशसभामा निर्वाचित केही सांसद प्रवेश गरेसँगै शाक्यको बहुमत गुमेको हो।

हाल एमालेबाट विभाजित नेकपा समाजवादीसहित नेपाली र नेकपा माओवादी केन्द्र शाक्यको विरुद्धमा जुटिरहेका छन्। बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब उनले विश्वासको मत लिनु पर्ने भएको छ ।

दल विभाजनलाई सहज हुने गरी ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा सांसदलाई भदौ २२ गतेसम्म एमालेमै रहने वा माधव नेपालको पार्टीमा जाने भन्ने निर्णय लिन समय दिएको छ। यसकारण भदौ २२ गतेपछि मात्रै प्रदेशको अन्‍तिम अंक गणित सार्वजनिक हुनेछ। हाललाई भने माधव नेपाल समूहमा रहेको बेला मुख्यमन्त्री शाक्यलाई साथ दिएका तीनजना प्रदेश सांसद राजेन्द्र पाण्डे, वसन्त मानन्धर र कृष्ण खनालले खुलेरै नेकपा एकिकृत समाजवादीमा प्रवेश गरिसकेको घोषणा गरिसकेका छन्। उनीहरु सँगै अन्य केही सांसद पनि माधव समूहमा गएको बताइन्छ।

प्रदेशसभामा एमालेको संख्या ५६ छ। सरकारमा बहुमत पुर्‍याउन ५५ सांसद चाहिन्छ। तर, नवगठित नेकपा एकिकृत समाजवादीमा एमालेकै कति सांसद जान्छन् त्यो यकिन हुन सकेको छैन। अहिले नेकपा एमाले, नेकपा एकिकृत समाजवादी पार्टीका सांसदहरुलाई रिझाउनभन्दा पनि अन्य साना दलहरुलाई रिझाउने प्रयासमा देखिन्छ।   

प्रकाशित मिति: : 2021-08-30 06:26:00

प्रतिकृया दिनुहोस्