पितृसत्तात्मक जगमा उभिएको भारतीय समाजमा विवाह एउटा पवित्र कर्म हो र पतिले पत्नीलाई बलात्कार गर्नु अपराध होइन। पछिल्ला सातामा त्यहाँका अदालतले पनि वैवाहिक बलात्कारबारे विवादास्पद फैसला दिन थालेका छन्, जसले अभियन्तालाई चिन्तित बनाएको छ।
बिहीबार छत्तीसगढ उच्च न्यायालयका न्यायाधीश एन के चन्द्रवंशीले पत्नीको इच्छाविपरीत वा पतिले जवरजस्ती यौन सम्पर्क गर्नुलाई बलात्कार भन्न नमिल्ने फैसला गरे।
आफ्ना पतिमाथि बलात्कार र अस्वाभाविक याैन सम्बन्धको आरोप लगाउँदै एक महिलाले गरेको उजुरीको फैसलामा न्यायाधीशको सो फैसला आएको थियो।
अस्वाभाविक याैन सम्बन्धका लागि पुरुषलाई कारबाही गर्न सकिए पनि उनीमाथि लागेको बलात्कार आरोपमा सफाइ मिल्ने न्यायाधीशको तर्क छ। भारतीय कानुनमा वैवाहिक बलात्कारबारे केही उल्लेख नभएकोले ती पुरुषले सफाइ पाउने न्यायाधीशको भनाइ छ।
सामाजिक सञ्जालमा बहस
न्यायाधीश चन्द्रवंशीको फैसलाले सर्वसाधारणमा आक्रोश बढाएको छ। लैंगिक अनुसन्धानकर्ता कोटा निलिमा ट्विट गर्छिन्, ‘महिलाको पक्षमा अदालतले कहिले फैसला गर्छ ?’ बलात्कारसम्बन्धी पुरानो कानुन संशोधन गर्नुपर्ने धेरैले ट्विटरमा आवाज उठाएका छन्। तर, केहीले सामाजिक सञ्जालमा विरोधाभाषपूर्ण विचार व्यक्त गरेका छन्।
‘कस्तो स्वास्नीले वैवाहिक बलात्कारबारे उजुरी गर्ली ?’ एक ट्विट प्रयोगकर्ता लेख्छन्, ‘सम्भवत: उनको चरित्र कमजोर हुनुपर्छ।’ अर्का प्रयोगकर्ता भन्छन्, ‘आफ्नो कर्तव्य थाहा नहुने पत्नीले मात्र बलात्कार दाबी गर्छन्।’
अदालतल नै विभाजित
बलात्कारको विषयलाई लिएर सामाजिक सञ्जाल मात्र होइन, अदालत नै विभाजित छ। केही साताअघि केरला राज्यको उच्च न्यायालयले वैवाहिक बलात्कारलाई सम्बन्ध बिच्छेद गर्न खोज्नेका लागि ‘राम्रो आधार’ भनेको थियो।
‘महिलाको स्वतन्त्रता अपमान गर्ने पुरुषको अनैतिक चरित्र वैवाहिक बलात्कार हो, यद्यपि यसलाई सजाय दिन मिल्दैन।’, वैवाहिक बलात्कारबारे अगस्ट ६ को फैसलामा न्यायाधीश मुहमद मस्ताक्यु र कौसर इडापागाथले भनेका छन्।
श्रीमानले श्रीमतीको शरीर आफ्नो अधिनमा छ भन्ने विश्वास रहेसम्म वैवाहिक बलात्कार हुने उनीहरुको भनाइ छ। आधुनिक कानुनको दर्शनमा यस्तो विचारको स्थान नहुने उनीहरुको भनाइ थियो। तर, न्यायाधीश चन्द्रवंशीले उठाएको कानुन भारतीय पेनल कोडको ३७५ खण्डसँग सम्बन्धित छ।
ब्रिटिस उपनिवेशकालीन सो कानुन सन् १८६० देखि कार्यान्वयनमा छ। कानुनमा धेरै छुट छ। पत्नीसँग हुने याैन सम्बन्धलाई कानुनले बलात्कार मानेको छैन। न्युज कारखाना