नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्थाबारे आज (मंगलबार) पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी घिमेरको अवस्थामा खासै सुधार नआएको समेत अस्पतालले जानकारी गराएको छ।
उनको करिब तीन महिना निर्भिक अस्पतालमा उपचार गर्दा समेत स्वास्थ्यमा अपेक्षित सुधार हुनसकेको छैन। अस्पतालका अनुसार दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको हो।
उनको उपचारमा नर्भिकले सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकेको अस्पतालले जनाएको छ। निशाको उपचारको नेतृत्व गरेका डा.पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर सुधार नआएको बताए। उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।
हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि कसैबाट पनि सहयोग नलिएको नर्भिक अस्पतालले जनाएको छ। घिमिरेको उपचारका लागि सहयोग रकम संकलन गरिएको भन्ने बारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ।
‘ब्रेन इञ्जुरी’का कारण विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेलाई अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते केही समाजसेवीको सहयोगमा उद्धार गरिएको थियो। डाक्टर पंकज उनको उपचारमा संलग्न छन्। अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ।