अहिलेसम्म कांग्रेस सभापतिमा तीन जनाको टक्कर, दाबेदार सबै नेविसंघ हाँकेकाहरु

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा ९ बाट तोकिएको छ। लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भने यही १८ गते वडा अधिवेशनबाट हुँदैछ।

यही क्रममा नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा शुरु गरेका छन्। भदौ ११ गते उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने उद्घोष गरे। सोही कार्यक्रममा पूर्वमन्त्री समेत रहेका 'राष्ट्र पूकार'का पूर्व सम्पादक होमनाथ दाहालले सम्झे - एउटा नियतिको।

२०२८ सालमा हालका सभापति शेरबहादुर देउवा नेविसंघको अध्यक्ष रहेको र उनको उत्तराधिकारीका रुपमा निधि नेविसंघको अध्यक्ष भएको घटना स्मरण गरेका थिए दाहालले। सोही प्रसंग जोड्दै दाहालले अहिले सभापति देउवा रहेकाले उत्तराधिकारी निधि हुनु नियतिको नै खेल भएको उल्लेख गरेका थिए।

नेविसंघमा दोस्रो अध्यक्ष बनेका देउवाले निधिलाई २०३६ सालमा मात्र अध्यक्ष पद सुम्पेका थिए। १३ औं महाधिवेशनमा सभापतिमा चुनिएका देउवा यसपटक पनि सभापतिका प्रत्यासी हुन्। असार १२ गते देउवाले नयाँ बानेश्वरमा राजनीतिक बिटका पत्रकारसँग भेटघाटमा आफ्नो उम्मेद्वारीबारे जानकारी गराएका थिए, 'पार्टीको महाधिवेशन आएको छ। मैले उठ्ने विचार गरेको छु। देशभरका साथीहरुले सहयोग गरे पार्टी सभापति बनुँला।'

तर, उनलाई आफ्नै गुटका उपसभापति निधिले टक्कर दिइसकेका छन्। देउवाले निधिलाई काँध नफेर्ने संकेत गरिसकेकाले यो नियतिको खेल कतिको हुन हो त्यो भने भविष्यको गर्भमै रहेको छ।

यता, सभापतिमा दाबी गर्ने अर्का नेता बनेका छन् कल्याण गुरुङ। २०६४ सालमा नेविसंघको कमान्ड सम्हालेका गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता मानिन्छन्। उनले बुधवार अनामनगर स्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर सभापतिमा दाबेदारी पेश गरेका हुन्। होमनाथ दाहालको नियतिको खेललाई आधार मान्ने हो भने गुरुङका लागि यो दाबेदारीबाट जित्नु बालुवाबाट तेल निकाल्नु बराबरी हुने देखिन्छ। किनभने तेस्रो अध्यक्षले मौका नपाइरहेको बेला १६ औं अध्यक्ष गुरुङको दाबेदारी जित्नलाई नभई मतदाताको माहोल आफूतिर तान्नमात्र भएको बताइन्छ।

प्रकाशित मिति: : 2021-09-01 19:44:00

प्रतिकृया दिनुहोस्