वायु सेवा निगम निगमको ऋण ५० अर्ब, सञ्चित नोक्सानी ११ अर्ब: सुधारका लागि समिति गठन गर्न अर्थमन्त्रीको सुझाव

अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमका कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव दिएको छ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिए।

मन्त्री शर्माले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज सञ्चालन गर्नुपर्नेमा जोड दिए। निगम सुधारका लागि हालसम्मका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औंल्याए। सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै उनले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताएका थिए।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरेका थिए।

उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताएका थिए।

निगम हाल ५० अर्ब ऋण तथा ११ अर्ब संचित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए। उनले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए।

विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको उनले जानकारी दिए।

उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भए पनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे।

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए।

प्रकाशित मिति: : 2021-09-03 17:02:00

प्रतिकृया दिनुहोस्