'मिस नेपाल युएस'लाई अमेरिकामा ट्रेडमार्क, 'मिस नेपाल-अमेरिका' प्रतियाेगिता आयाेजना हुँदै

मिस नेपाल अमेरिकाकाे १०औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म मिस नेपाल अमेरिका आयोजना हुने भएकाे छ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट  वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन्। आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ।

नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ। साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ।

मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ। यो कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ।

झण्डै १० बर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको हाे। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ।

सन् २०१७ को अक्टोबरमा आवेदन दिइए पनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो।

सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो। यस अगाडि मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिए पनि मिस युसएएले दावी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो।

सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन।

अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन्। साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-09-04 21:39:00

प्रतिकृया दिनुहोस्