काँग्रेस महाधिवेशन : ‘सेकेन्ड बेस्ट थ्यौरी’ को बहस

दोस्रो चरणको मतदानमा को बन्ला देउवाको प्रतिस्पर्धी ?

रातोपाटी

लोकेन्द्र भट्ट

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा  सभापतिका उम्मेदवारबीच ‘सेकेन्ड बेस्ट थ्यौरी’ अर्थात ‘दोस्रो उत्तम  सिद्धान्त’ बारे बहस शुरु भएको छ। बीपी कोइरालाको हवाला दिँदै यो सिद्धान्तको चर्चा सभापतिका दाबेदार विमलेन्द्र निधिले शुरु गरेका छन्।

पहिलो रोजाइमा परेको नेता असफल भयो भने दोस्रो विकल्प रोज्ने यो ‘सेकेन्ड बेस्ट थ्यौरी’ काँग्रेसको सभापति छनोटमा मात्र नभएर जीवनका हरेक क्षेत्रमा लागू हुने निधिले आफू निकटस्थहरुसँग बताउने गरेका छन्। र, यही ‘थ्यौरी’ कै आधारमा आफूले महाधिवेशनबाट सभापतिमा जीत हासिल गर्नेसमेत उनले आफ्ना निकट नेताहरुलाई बताएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा कार्यरत रहँदा काँग्रेस नेता बीपी कोइरालाले आफूलाई ‘सेकेन्ड च्वाइस’ का बारेमा कापीमा कोरेर प्रशिक्षण दिएको निधिले बताउने गरेका छन्। अब काँग्रेसको आगामी चौधौं महाधिवेशनमा सभापतिको चयन यही ‘सेकेन्ड च्वाइस’ अनुसार हुने उनको विश्लेषण छ।

निधिले आफू निकटस्थहरुलाई बताएअनुसार बीपी कोइरालाले नेविसंघको तेस्रो अध्यक्ष तय गर्दा ‘सेकेन्ड बेस्ट थ्यौरी’ प्रयोग गरेका थिए। त्यसबेला नेविसंघको जनकपुर अधिवेशनमा निधिलाई अध्यक्ष बनाउन बीपीले विशेषाधिकार ‘भिटो’ लगाएका थिए।

प्रकाशित मिति: : 2021-09-05 13:02:00

प्रतिकृया दिनुहोस्