संखुवासभा हत्या प्रकरणः पैसा लुट्नकाे लागि हत्या गरेको प्रहरीको आशंका

तेजन खड्का

काठमाडौँ

संखुवासभाको मादी नगरपालिका-१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्ड प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ।

संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलतर्फ लगिएको प्रहरीले जनाएको छ।

अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन्।

बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो। आँखा देख्न र कान सुन्न नसक्ने ९० वर्षीय बौद्धमान भने सकुशल छन्। सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हत्याको कारण यही हो भन्न सकिने अवस्था अहिले नै नभए पनि घरमा नगद रहेको आशङ्कामा सोही पैसा लुट्नका लागि परिवारका सबैको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आइतबार राति हत्या भएका तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन्।  छोराहरुले विदेशबाट कमाएर पठाएको पैसाले जग्गा किन्ने तयारी हुँदै गर्दा घटना भएको अनुमान गरिएको हो। 

तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियाे भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको थियाे। तेजबहादुरका नाति रनातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए। घटनास्थलमा मकैबारी माडिएको, चुरा फुटेको भेटिएको थियो।

शव मंगलबार उठाइने

परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ। सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरीले जनाएको छ।

हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ।घटनास्थल विकट ठाउँमा भएकाले मंगलबार मात्रै शव उठाउन सकिने प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण बिसीले बताए।



संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

छ जना मारिएको परिवारका एक्ला साक्षी वृद्धले भने, ‘बिहान परिवारका सबैलाई मारेभन्दा छाँगाबाट खसेजस्तो भएँ’

संखुवासभा छ जना हत्या प्रकरणः फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ 

प्रकाशित मिति: : 2021-09-06 19:45:00

प्रतिकृया दिनुहोस्