नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज क्वीनको उपाधि पाँचथरकी नयन गुरुङले जितेकी छिन्।
तीज क्वीन पहिलो र दोस्रो रनर अप क्रमशः दोलखाका सिमी पाख्रिन र वीरगञ्जका सपना भुजेल कार्कीले प्राप्त गरिन्। तीज क्वीन विजेताहरुका लागि राजी शाह भट्टद्वारा क्राउन प्रदान गरिएको थियो।
मकाउमा रहेका नेपाली महिला दिदिबहिनीहरुले यस पटक थप नयाँ कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम आयोजक समितिकी गीता मगर शेर्पाले जानकारी दिएकी छन्।
मकाउमा कार्यरत नेपालीहरुले आफ्ना चाड, पर्व र संस्कार संस्कृति मनाउन एक जुट हुदै आएका नेपाली दिदीबहिनीहरुले थप नयाँ रुप दिन तीज क्वीन कार्यक्रमसमेत राखिएको उनको भनाइ थियो।
मकाउमा रहेका नेपाली महिलाहरुले यो पटक तीजको अवसरमा एक कार्यक्रम आयोजना गरी तीज क्वीन कार्यक्रम राखेर थप रमाईलो गरेका हुन्।
गत सेप्टेम्बर ५ तारिख आइतवार मकाउ स्थित पोन्टे—१६ होटलको छैटौँ तलाको ग्राण्ड बलरुममा आयोजना गरिएको कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रम बाहेक अन्य विभिन्न खेल, मनोरंजनात्मक कार्यक्रम गरेर खुशी साटेका थिए। उपस्थित नेपाली महिलाहरुको अलवा विदेशी महिलाहरुले समेत नेपाली रातो पहिरनका साथमा नाच गान गरी रमाईलो गरेका हुन्।
आयोजित कार्यक्रमका लागि शेर्पा समाज मकाउ र गुरुङ “तमु” समाज मकाउले एक रात उक्त होटलमा बस्नका लागि सम्पूर्ण सुविधा सहितको २ वटा छुट्टा छुट्टै कोठा प्रायोजन गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित नेपाली महिलाहरुवीच भाग्यशाली चिठ्ठाद्वारा उक्त पुरस्कार प्रदान समेत गरिएको थियो।
उक्त तीज कार्यक्रममा उपस्थितहरुको तर्फबाट सामुहिक रुपमा काठमाडौं राजधानीमा विभिन्न जिल्लाबाट श्रम गर्न आएका श्रमिकहरु लकडाउनका कारण काम गर्न नपाउदा समस्यामा परेका श्रमिकहरुलाई खाद्यान्य प्रदान गरिएको थियो। आयोजित तीज विशेष कार्यक्रमका लागि मकाउमा गठित संध संस्था र उल्लेख्य रुपमा मकाउमा कार्यरत नेपाली दाजुभाईहरुले समेत दिदिबहीनीका लागि खुलेर सहयोग गरेका थिए। आयोजित कार्यक्रम कृष्ण शेम्पा याम्फु राईले संचालन गरेका थिए।