एमसीसी उपाध्यक्ष फातिमाकाे भेटवार्ताः ओलीले भने-'सत्ताको पोजिसन क्लियर छैन', नेपालले भने-'अरूसँग कुरा गर्नुस्'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन्।

अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट अवरोध भएको र अहिले प्रतिपक्षीमा भएकाले आफ्नो हातमा नभएको स्पष्ट पारे।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार ओलीले सत्ताको पोजिसन क्लियर नभएसम्म अहिले एमसीसीमा धारणा नबनाउने जवाफ दिएका थिए।

'एमसीसीको विवादका विषयमा उहाँहरु (फातिमा)ले आफ्नो धारणा सुनाउनुभयो। यहाँको अवस्थालाई हेरेर धेरै कुरा स्पष्ट पारेका छौं। लामो समयसम्म नगोसिएसन भएर टुंगिएको विषय हो। अहिले जुन विवाद आयो यो नहुनु पर्थ्यो जस्तो लाग्छ भन्नुभयो,' भट्टराईले भने, 'ओलीले आफूहरु सत्तामा रहँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकार (देउवा) ले गरेको सम्झौता भए पनि दुइटा मुलुकबिच भएका सम्झौता निरन्तरता हुनुपर्छ भन्ने हिसाबले पार्टीभित्रै कतिपय रिजर्भेसन हुँदाहुँदै पनि अगाडि बढाउने कोसिस गरेका हौं। हामीले संसदमा टेबल गरिसकेका छौं। सभामुख लगायत केही व्यक्तिको भूमिकाको कारणले अघि बढ्न सकेन भन्नुभयो।'

अध्यक्ष ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको भन्दै एमसीसी पास हुने/नहुने सत्तारुढ गठबन्धनमा निर्भर रहेको बताएका थिए।

'हाम्रो भूमिका बदलिएको छ। हिजो सरकारमा हुँदा हामीले जे गरेका थियौं आज विपक्षमा हहुँदा मिल्दैन। यो विषयमा सत्ता पक्षले हामीसँग कुनै छलफल गरेको छैन। कुनै निर्णय पनि आएको छैन। कुनै अप्रोच पनि गरेको छैन। यो अवस्थालाई यहाँहरुले यहीँ हिसाबले बुझिदिनुस्,' ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने।

भट्टराईले सत्तारुढ दलले के गर्न चाहिरहेको भन्ने थाहै नपाएर एमाले बोल्न नमिल्ने बताए। त्यो भन्नु अपरिपक्व हुने उनको भनाई छ। 'त्यहीँ भएर हामी हतारिएर बोल्ने कुरा छैन। पहिला सत्तारुढ पार्टीको पोजिसन आओस्। सायद उहाँहरुलाई हाम्रो साथ नचाहिन पनि सक्छ। किनभने १६५ अस्ति प्रधानमन्त्रीलाई समर्थनका लागि दिइसक्नुभएको छ। जब उहाँहरुले १६५ हामीसँग किन चाहियो भनेर हामीलाई इग्नोर गरेको पनि हुनसक्छ,' उनले भने, 'हामीसँग चासो नै नराख्ने भनेपछि हामीले के बुझ्ने त ? भन्दा अहिले विपक्षी आवश्यक छैन। सत्ता दलले आफ्नो हिसाबले लिएर जाने भन्ने बुझ्नुपर्छ।'

भट्टराईले सत्ता पक्षबाट प्रस्ताव आएपछि पार्टीले निर्णय गर्ने बताए। अध्यक्ष ओलीको कुरालाई एमसीसी उपाध्यक्ष फातिमाले सहज रुपमा लिएको भट्टराईले दाबी गरे।

माधव नेपालसँग पनि भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि फातिमाले भेटवार्ता गरेकी छिन्।

भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन्। उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए।

‘चार वर्षदेखि थाँती रहेको विषय छ यो। अहिले हामी संयुक्त सरकारमा हौँ। हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भने, ‘यो नेपाली जनतासँग जोडिएको बिषय हो। नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस्।’

उनका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन्। उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन्।

‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन। हामी दबाब दिनका यहाँ आएका होइनौँ’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन्।

भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिएका थिए।

‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ। स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भनेका थिए। उनीहरूबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो। 



बालकाेटमा ओली र फातिमाबीच वार्ता सुरू, यी नेताहरू पनि सहभागी (तस्वीरहरू)

प्रकाशित मिति: : 2021-09-09 21:00:00

प्रतिकृया दिनुहोस्