टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

बिएल संवाददाता

सिन्धुपाल्चोक
File photo
File photo

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

२६ भदौैमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए। टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो। उपचारको क्रममा आज उनको मृत्यु भएको हो।

२८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए। उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-15 13:40:00

प्रतिकृया दिनुहोस्