त्रिपालभित्रै बित्यो ब्रोडगेज रेल्वेको एक वर्ष

रातोपाटी

काठमाडौँ

 भारतको कोंकण निर्माण कम्पनीसँग सरकारले दुई सेट ब्रोडगेज रेल खरिद गरेको असोज ३ गते एक वर्ष पुग्दैछ।

पछिल्लो एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा दुई सेट रेल थन्क्याएर राखिएको छ। रेल छोप्न प्रयोग गरिएका त्रिपाल च्यातिएर चिराचिरा परिसकेको छ।

झन्डै एक अर्ब रुपैयाँ खर्चेर सरकारले भारतसँग खरिद गरेर ल्याएका रेलहरू खुला आकाशमुनि थन्किएकाले खियासमेत लाग्न थालेको छ। रेल्वे ट्रयाकमा प्रयोग गरिएका क्लिपहरू चोरी भइरहेको छ भने नवनिर्मित रेल्वे स्टेशनका झ्यालका सिसाहरू फुटिसकेका छन् र बरण्डा पनि चिराचिरा परिरहेको छ। तर, रेल कहिलेदेखि चल्ने भन्ने अझै टुङ्गो हुन सकेको छैन।

नेपाल रेलवे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल चलाउन पटक–पटक दिएका मितिहरू घोषणामै सीमित रहेर बितिसकेको छ।

यता नवनियुक्त महाप्रबन्धक निरञ्जनकुमार झा रेल सञ्चालनमा अझै केही समय लाग्ने बताउँछन्। दुई सेट रेल खरिद भएर आइसकेको लामो समय बिते पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको उनको भनाइ छ।

‘आजको भोलि नै रेल सञ्चालन हुने अवस्था छैन। रेलसम्बन्धी कानुन संसदबाट पारित भइसकेको छैन, प्राविधिक विषयहरूमा पनि समस्या छ,’ उनले भने, ‘सञ्चालनका लागि अझै दुई–तीन महिना कुर्नुपर्लाजस्तो हामीलाई लागेको छ।’

प्रकाशित मिति: : 2021-09-16 08:55:00

प्रतिकृया दिनुहोस्