नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन्।
नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए।
'दुई महिनादेखि सरकार विस्तार भएको छैन। सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्। यो जनताप्रतिको चरम उदासीनता हो', नेता रावलले भने।
उनले नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना घटेको बताए। बजेट संसदबाट पारित हुन नसकेर सरकारले खर्च गर्न नपाउने अवस्था आएकोप्रति उनले खेद व्यक्त गरे।
नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिए। उनले पार्टी फुटको पीडा सिंगो देश र एमालेले नराम्रोसँग भोगिसकेकाले पार्टी विभाजन कसैको हितमा नभएको बताए।
आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दामाथि रहने रावलले बताए।