संखुवासभा सामूहिक हत्या प्रकरण : थप चार जना सार्वजनिक

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन्।

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको हत्या भएको थियो।  एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए। पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन्।

प्रकाशित मिति: : 2021-09-20 12:44:00

प्रतिकृया दिनुहोस्