मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरकी २१ वर्षीय रोजिना गिरीको हत्या आरोपमा माइतीले ३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
माइती पक्षले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै इलाम प्रहरी कार्यालय बेलबारी पुगेर रोजिनाकाे सासू, जेठाजु र जेठानीविरुद्ध किटानी जाहेरी दिएको मृतकका काका चक्र गिरीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले मृतकका माइती पक्षले उनका ससुरालीतर्फका तीन जनाविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गर्दै भने, ‘उहाँहरूले किटानी जाहेरी दिनुभएको छ। त्यस विषयमा हामीले अनुसन्धान जारी राखेका छौँ।’
रोजिना शनिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाकाे प्रकृतिका आधारमा रोजिनाले आत्महत्या गरेको भनिए पनि आत्महत्या नभएर उनको हत्या गरिएको उनका आफन्तले आरोप लाएका छन्।
माइती पक्षले आइतबार उर्लाबारीबाट इलाका प्रहरी कार्यालय बेलबारी आएर किटानी जाहेरी दिएका छन्। किटानी जाहेरी दिँदै मृतक रोजिनाका पिता धर्म गिरीले भाव विह्वल हुँदै भने, ‘आत्महत्या भनिएको छ तर हामी आत्महत्या मान्न तयार छैनौँ, हत्या गरेर आत्महत्या देखाउन झुण्डाएकाे हुनसक्छ, घटना प्रकृति हेर्दा कुनै पनि हालतमा आत्महत्या देखिँदैन। यो हत्या गरेर झुन्ड्याइएकोजस्तो देखिन्छ।’
छोरीको हत्याको विषयमा प्रहरीले असहयोग गरेको माइती पक्षले आरोप लगाएका छन्। मृतक रोजिनाका पिता भन्छन्, ‘हामीले किटानी जाहेरी दिएपछि प्रहरीले दोषीलाई पक्रिएर अनुसन्धान सुरु गर्नुपर्ने हो तर किन त्यस्तो गर्दैन ? यसले हामीलाई झन् सशंकित बनाएको छ।’ उनी दोषीलाई चाँडो पक्रिएर अनुसन्धान सुरु गर्नुपर्ने माग गर्छन्।
यता यस विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय बेलबारी प्रहरी निरीक्षक सरोज खनाल भने प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन्। ठोस प्रमाण नहुँदा नियन्त्रणमा नलिए पनि अनुसन्धान भने जारी भएको उनी बताउँछन्।
उर्लाबारी ८ दुर्गापुरी माइती भएकी मृतक रोजिनाको गत २०७७ सालको भदौमा सुन्दरहरैँचाका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो।
मृतकको शव पोष्टमार्टमका लागि आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा राखिएको छ। तर उनका घरतर्फका कोही नआउँदा शवको पोस्टमार्टम हुन सकेको छैन। वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका उनका श्रीमान आएपछि मात्र शव बुझ्न आउने भनेपछि पोस्टमार्टम हुन सकेको छैन।