जोखिममा सर्वसाधरणको यात्रा

File Photo
File Photo

चाडवाड लागेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीको गति जाँच्न थालेको छ। चाडवाड नजिकिदैं जाँदा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी गति मापन यन्त्र ‘र्‍याडर गन’ सहित सडकमा निस्किन थालेका हुन्। मंगलवार झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक निषेश चापागाई सहितको टोलीले शिवसताक्षी –१० मा सवारीको गति जाँचे।

खुला क्षेत्रमा ६० र बजार क्षेत्रमा २० को स्पीड चलाउन मिल्ने भए पनि सवारी चालकले लापरबाही पूर्ण तरिकाले सवारी चलाएको पाइएको छ। झापा ट्राफिक प्रमुख चापागाई भन्छन्, चालकको लापरबाहीले यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ। उनका अनुसार हरेक नागरिकले सुरक्षित यात्रा गर्न पाउनुपर्छ।

चाडवाडमा सबै जसो सवारी हतारमा कुदाउने भएकाले बेलैमा नियन्त्रण गर्न र्‍याडर गनबाट चेकजाँच शुरु गरेको उनको भनाई छ। पहिलो दिन माइधार क्षेत्रमा गरिएको छ, उनले भने – अब हरेक दिन विभिन्न ठाउँमा सवारीको गति जाँच गरिने छ। सार्वजनिक बस, मालवाहक ट्रक र निजी सवारीले तीव्र गतिमा सवारी चलाएको चापागाईको भनाई छ।

पहिलो दिन २ सयभन्दा बढि सवारीको गति जाँच गरिएको प्रहरी सहायक निरीक्षक याम कुमार खड्काले जानकारी दिए। ११ वटा सवारीलाई लापरबाही गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ। हरेक सवारीलाई सम्झाई बुझाई समेत गरिएको खड्काको भनाई छ। तीव्र गतिमा सवारी चलाउनेलाई १ हजारका दरले जरिवाना गरिएको बताइएको छ। १५ सय सम्म जरिवाना गर्न पाइने खड्काले जानकारी दिए।

तथ्याङक अनुसार ०७८ बैशाख देखि झापामा ३३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। बैशाखमा ५२ वटा दुर्घटना भएको थियो। दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए। जेठमा २८ दुर्घटना २ जनाको मृत्यु, असारमा ६३ दुर्घटना ६ जनाको मृत्यु, साउनमा ४९ दुर्घटना ६ जनाको मृत्यु र भदौमा ४५ दुर्घटना ८ जनाको मृत्यु भएको खड्काले जानकारी दिए। दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्याले झापामा सर्वसाधरणको यात्रा जोखिममा रहेको देखिन्छ।

प्रकाशित मिति: : 2021-09-22 10:20:00

प्रतिकृया दिनुहोस्