नेविसंघ झापाका सभापति उप्रेती जुवाखालबाट पक्राउ परेको खुलासा 

दमक प्रहरीले जुवा (कौडा) खालमा नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीलाई पक्राउ गरेको खुलासा भएको छ।

इलाका प्रहरी कार्यालय दमकले मंगलबार राति ११ः३० बजे दमक १ स्थित हिमाल देवानको घरबाट १७ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।

१७ जनामा धेरैले गलत नाम लेखाएका थिए। त्यसमध्ये उप्रेतीले समेत कनकाई –३ सुनिल शाह नाम लेखाएको दमक प्रहरीले जनाएको छ।

नेविसंघ झापाका सभापति उप्रेतीलाई पक्राउ गरिएको विषय गोप्य राख्न जिल्ला प्रशासन र प्रहरीलाई समेत दबाब दिइएको छ। तर, प्रहरीले नागरिकता झिकाए पछि राजेन्द्र उप्रेती नै भएको पुष्टि भएको छ।

प्रहरीले विशेष सूचनाको आधारमा १६ थान कौडा र चार लाख सत्ताइस हजार छ सय रुपैयाँ समेत बरामद गरेको थियो।

प्रहरीले उप्रेतीसहित भद्रपुर ७ का ५१ वर्षीय युवराज न्यौपाने, वडा नं ९ बस्ने ४९ वर्षीय दिल बहादुर राई, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, भद्रपुर १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला (घाइते), गौरादह ५ का ४५ वर्षीय हरि कोइराला, कमल ४ का सुबिन्द्र सुब्बा रहेका छन्।

त्यसैगरी कन्काई ३ का मोहन बराल, मोरङ ग्रामथान ४ का लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का २१ को निशान पोखरेल, दमक ७ का ४९ को कर्ण राई, राजन दाहाल र विनोद थेबेलाई पक्राउ गरेको छ।

म्याद थप गरेर उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

प्रकाशित मिति: : 2021-09-23 10:45:00

प्रतिकृया दिनुहोस्