दाइ अमिताभ बच्चनले भाइ शशी कपुरलाई भन्छन्, 'आज मेरे पास बिल्डिगेँ हैं । प्रोपर्टी हैं । बैंक ब्यालेन्स हैं । बंगला हैं । गाडी हैं । क्या है तुम्हारे पास ?'
मैले कडै दिएँ सोचेर अमिताभले छाती फुलाउँछन् ।
भाइले मन फुकाउँछन् । र, जवाफ दिन्छन्, 'मेरे पास माँ हैं ।'
सामान्यतया कुनै पनि देशले एक उत्कृष्ट ब्याट्सम्यान पाउँछ । कुनै देशले उत्कृष्ट विकेटकिपर पाउँछ । कुनैले उत्कृष्ट क्याप्टेन पाउँछ । तर, एकपटक भारतले एउटै मान्छेमा यो सबै गुण पायो । र, छातीमा झण्डाको तिरङ्गा हल्लाउँदै संसारलाई भन्यो, 'हमारे पास महेन्द्रसिंह धोनी है । तुम्हारे पास क्या है ?'
संसारभरिका क्रिकेट खेल्ने देशहरूले एकअर्कालाई हेरे । कुनै देशसँग उत्कृष्ट ब्याट्सम्यान थिए । कुनैसँग उत्कृष्ट बलर । बलरमा पनि कुनैसँग उत्कृष्ट स्पिन बलर थिए । कुनैसँग उत्कृष्ट फास्ट बलर । कुनैसँग उत्कृष्ट फिल्डर थिए । र, कुनैसँग उत्कृष्ट नेतृत्व गर्ने क्याप्टेन । एउटा देशसँग चाहिँ यो सबै गुण भएको एउटै मान्छे थियो । त्यो देशको नाम थियो– नेपाल ।
चन्द्रसूर्य झण्डा हल्लाउँदै नेपालले भन्यो, 'हमारे पास पारस खड्का हैं ।'
तिनै पारस अनि मणिजस्ता हाम्रा अरु खेलाडीहरू क्रिकेट खेल्न विदेश गएका थिए । विदेशको ठूलो क्रिकेट स्टेडियममा खेल सुरु हुन लागेको थियो ।
यता नेपालमा (कीर्तिपुरमा) चाहिँ एउटा साथीले आफ्नो घरबेटीको टीभीमा क्रिकेट हेर्न हामीलाई बोलाएको थियो । साथीले भनेथ्यो, 'घरबेटी मजाका छन् । हल्ला गर्दा नि केही गर्दैनन् । ठूलो टीभीकोठा छ । आओ केटा हो । सबै खाँदखुँद गरी बसेर हेरुम् । नेपालले जित्छ । अनि आ–आफ्नो कोठा जाम्ला ।'