जब गणेशमानले राणाको जेल तोडे...

शिवलाल श्रेष्ठ

बेलुकीपख विष्णुमती पश्चिमतिर अवस्थित माँ स्वाहा भगवती मन्दिरमा तीनजना दुवै हात जोडेर उभिरहेका थिए। बीचकाले भवानी माँको पाउमा ढोग गर्दै ती दुवैलाई पनि ढोग्न लगाए र भने, ‘म जे जे भन्दै जान्छु तिमीहरू त्यही दोहोर्‍याउँदै जाउ।’ त्यहाँ भगवतीलाई साक्षी राखेर किरिया ख्वाउने र खाने विधि चलिरहेको थियो। ‘शेरे बंगाल’ धर्मभक्त माथेमाले गंगालाल श्रेष्ठलाई आफ्नो दायाँतिर र गणेशमान सिंह श्रेष्ठलाई बायाँतिर राखेर नेपालको पहिलो राजनीतिक संगठन ‘प्रजापरिषद्’ परिवारमा सम्मिलित गराउनुपूर्व दुवैलाई किरिया खान लगाएका थिए। ‘आजदेखि हामी जीउज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं। कदाचित् त्यो प्रक्रियामा कहीँ पक्राउ परियो भने बरु मरेर जाने छौं तर, सास रहुञ्जेल कसैलाई धोखा दिने छैनौं।’दुवैले दृढताका साथ किरिया खाए।

काठमाडौंमा राणाशाहीविरुद्ध पौंठेजोरी खोल्दाका हीराकाजी भारतको कलकत्तामा अध्ययन गरी म्याट्रिकुलेसन परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएर विज्ञान संकायमा अध्ययन गर्दा उनमा वैचारिक परिपक्वता परिमार्जित भइसकेको थियो। तथापि इन्द्रचोकमा शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठले राणा शासनका खिलाफ जनचेतना जगाउन दिएको जोसिलो भाषणको प्रसंगमा २२ वर्षे गंगालालको व्यक्तित्व र उनले दिएको भाषणको बखान यत्रतत्र हुन थालेपछि गणेशमान सिंहमा ईष्र्याभाव जागृत भएको थियो। देश र जनताप्रतिको कर्तव्य र त्यसको प्राप्तिका बाटो एउटै भएकाले आज दुवैजना आफ्नो एकै राजनीतिक गुरुबाट एकै ठाउँमा एकै समयमा एउटै किरिया खाँदै थिए।

प्रकाशित मिति: : 2021-09-24 11:00:00

प्रतिकृया दिनुहोस्