पुलुकिसी जात्रा, मपात्र र गणेश खटजात्रा सम्पन्न

File photo
File photo

भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पुलुकिसी जात्रा आज साँझ सम्पन्न भएको छ।

प्रत्येक वर्ष आश्विन कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी शुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाइएको छ।

आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन आज लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाइएको हो। 

पुलुकिसीलाई चार जनाले बोकेर त्यसको मुनि एकजनाले घण्टा बजाएर अगाडि पछाडि दौडाउँदै नगरपरिक्रमा गरिने परम्परा रहेको छ। पुलुकिसीलाई जात्राका क्रममा वंशगोपाल चोकमा धान खुवाउने, दरबार क्षेत्रमा छ्वाली बालेर आगो तपाउने र दत्तात्रयस्थित (तल्ला तुन्छी) इनारमा पानी खुवाउने प्रचलन छ।

ऐतिहासिक धार्मिक गन्थ्रअनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न आवश्यक पारिजातको फूल लिन छोरा जयन्तलाई पठाइयो। पारिजात फूल खोज्ने क्रममा इन्द्रपुत्र जयन्त पृथ्वी लोकमा आइपुगेर फूल टिप्ने क्रममा दैत्यले पक्राउ गरेर जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई लिन आएका देवता र दैत्यहरुबीच भएको युद्धमा देवताले विजय हासिल गरेपछि त्यसको खुशियालीमा पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मीको भनाइ छ।

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी त्यही पुराणका कथाका आधारमा जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी रामेश्वर उपाध्यायको भनाइ छ। जयन्तलाई हात बाँधेर राख्दा मुःपात्रले दुव्र्यवहार गरिएको र जयन्तलाई खोज्न पुलुकिसी अर्थात् ऐरावत हात्ती आएको सन्दर्भमा जात्रा मनाउँदै आएको उनको भनाइ छ। 

जात्रामा पुलुकिसीलाई टोलटोल घुमाउँदा त्यसको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको बेला पुलुकिसी अगाडि आएपछि  सुँढले छोला भनेर जात्रालु परपर जाने गर्दछन्। 

त्यसैगरी आजै भक्तपुरमा याँःमता अर्थात आकाश दीप बालेर भैरवको खटजात्रासमेत मनाइएको छ। मूःपात्र जात्रासमेत मनाइएको छ। आज इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी घुमाइसकेपछि योःमद्योलाई उखेली जात्रा सम्पन्न गरिएको छ। 

त्यसैगरी तीनदिनसम्म मनाइने मुपात्र जात्रा पनि आज सम्पन्न भएको छ । राक्षसका रूपमा लिइने मुपात्रलाई तरबार समात्न लगाई नगरपरिक्रमा गराएर सम्पन्न गरिएको छ । नगरको टोलटोलमा ठड्याइएको यमःदयोलाई मुपात्रले तीन पटक घुमेर तरबारले हान्ने प्रचलन रहेको छ । मुपात्र जात्रा शुरु हुनुअगाडि दत्तात्रय मन्दिर अगाडि त्रिशूल आकारको एक जोडी याँमता बालेर तचपालस्थित सँला गणेशलाई खटमा राखेर जात्रा गरिएको छ । रासस

प्रकाशित मिति: : 2021-09-24 22:00:00

प्रतिकृया दिनुहोस्