‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ।
गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए। उनलाई सोही दिन अमेरिका फिर्ता पठाइएको हो।
अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ।
नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन्। गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउने छैनन्।
भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो। परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन्।